६ बैशाख २०८१, बिहीबार

 

संविधान च्यात्ने र लोकतन्त्र मास्नेहरूबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउनु हाम्रो प्राथमिकता : संयाेजक थापा

नेकपा एकीकृत समाजवादी बागलुङका संयोजक लालबहादुर थापाले एमाले अध्यक्ष केपी ओलीका कारण नेकपाको एकता भाँडिएको र पार्टी विभाजित भएको बताएका छन् ।

कम्युनिस्ट पार्टी नीतिप्रधान हुनुपर्नेमा नेताप्रधान बनाइएको र पार्टीलाई विधि–पद्धतिअनुसार नभई स्वेच्छाचारी ढंगले चलाउन खोजेका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको उनको भनाइ छ ।

लोकतन्त्र र संविधानको रक्षार्थ सडक संघर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधिसभालाई बचाइए पनि राजनीतिक स्थिरता कायम हुन नसकेको जनाउँदै उनले बागलुङमा युवापंक्तिलाई साथ लिएर पार्टी अगाडि बढ्ने बताए ।

‘अहिलेको वाम–लोकतान्त्रिक समीकरणलाई आगामी चुनावसम्म लैजान आवश्यक छ,’नयाँ विश्वसँगको कुराकानीमा थापाले भने, ‘हामीसँग थुप्रै चुनौतीका साथ साथै विराट सम्भावना पनि छन्, हामीले नेपालको राजनीतिभित्रको समस्यालाई नजिकबाट बुझेका छौं । समस्याबाट मुक्त हुने खोजीमा पार्टीमा लागेका हौं ।’

इतिहासमा जसले विद्रोहको झन्डा उठाएको छ, त्यसैले इतिहास निर्माण गरेको थापाले बताए । ‘जो इतिहासका कठिन परिस्थितिमा निर्भीकतापूर्वक उभिएको छ, त्यसैले नै समाजलाई डोर्‍याएको छ,’ उनले भने ।

अहिलेको यथास्थितिमा घुमिरहेको राजनीतिको गोलचक्करले समाजवादको यात्रालाई अगाडि बढाउन नसक्ने जनाउँदै थापाले आफूहरू समाजवादको जग हाल्ने काममा लागेको बताए । ‘विचार, संगठन र सिद्धान्तको जग हाल्न हामी अगाडि बढेका छौं,’ उनले भने ।

एकीकृत समाजवादीले मुख्य रूपमा २०६२–०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिरक्षाको विषयलाई गम्भीरतापूर्वक उठाउने थापाको भनाइ छ ।

संविधान च्यात्ने, लोकतन्त्रमाथि प्रहार गर्ने, संसद्को हत्या गर्ने काम अपराधपूर्ण रहेको भन्दै उनले त्यस्तो प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउने र पुनर्गठन गर्ने कुरा आफूहरूको पहिलो प्राथमिकतामा रहेको बताए । सुसंस्कृत तथा समृद्ध समाज निर्माणका लागि युवालाई नेतृत्वमा ल्याउनुपर्नेमा थापाले जोड दिए ।

‘युवालाई खाली सलामी, गुलामी र मलामीमा सीमित गर्ने आजको राजनीतिको जुन मनोदशा र प्रवृत्ति छ, त्यसलाई फेर्न पर्छ,’ उनले भने, ‘हामी विद्रोहबाट अहिले भइरहेका परम्परावादी शक्तिहरूलाई बदलिन झकझक्याउनेछौं ।’

२०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई अहिलेको नेतृत्वले व्यक्तिगत स्वार्थमा लैजाने काम भएकाले त्यसको अन्त्यका लागि आवाज उठाउने उनको भनाइ छ । आफू महलमा बसेर झुपडीका जनताको दुःखकष्ट बिर्सन नहुने थापाको तर्क छ । ‘जनताको अवस्था परिवर्तनका लागि ठूलो पार्टी आवश्यक भए पनि सत्ताको भर्‍याङका लागि गरिएको पार्टी एकताले थप समस्या सिर्जना भयो,’ उनले भने ।

पार्टीहरू जो लोकतन्त्रका लागि लडे, उनीहरू नै लोकतान्त्रिक बन्न नसकेको थापाले आरोप लगाए । ‘जनतालाई ढाँट्न र भोट बैंकका रूपमा प्रयोग गर्न हुँदैन,’ उनले भने, ‘जनता किन असन्तुष्ट भइरहेका छन्, त्यो कुरा बुझ्न जरुरी छ ।’

बागलुङमा कम्युनिस्ट आन्दोलन र मूल्यमान्यता तथा क्रान्तिकारी चरित्रसहित राजनीतिमा होमिएको पंक्ति नेकपा एकीकृत समाजवादीमा रहेकाले त्यसलाई संगठित गरेर अगाडि बढ्ने थापाले बताए ।

‘पार्टीको हिजोको परम्परावादी घेराबाट बाहिर रहेका क्षमतावान् युवा, समाजसेवा गरेर स्वतन्त्र विचार बोकेका धेरै राम्रा प्रतिभावान् व्यक्तिहरू रहेकाले उहाँहरूलाई समेटेर जानेछौं,’ उनले भने, ‘पुराना पुस्ता, युवा पुस्ता र भविष्य निर्माण गर्न सक्ने नयाँ पुस्ता तीनैवटालाई मिलाएर लैजानेछौं ।’

आगामी असोज ९ गते जिल्ला भेला आयोजना गरिएकाले सबै पदाधिकारी र कमिटी टुङ्ग्याउने पनि उनले जानकारी दिए । ‘पार्टीले युवा, अनेम संघ र पेसाकर्मीहरूको जिल्ला भेला गरिसकेको छ,’ उनले भने, ‘अब गाउँ तथा नगरपालिकामा भेला गर्ने तयारी छ ।’

(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्