२४ बैशाख २०८१, सोमबार

 

ब्याजदरमा अंकुश लगाएपछि तरलता व्यवस्थापनतर्फ राष्ट्र बैंक

निक्षेपको ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका बैंकहरूलाई अंकुश लगाएको नेपाल राष्ट्र बैंकको ध्यान अब तरलता व्यवस्थापनतर्फ मोडिएको छ ।

मौद्रिक नीतिमार्फत कर्जा–निक्षेप अनुपात सीडी लागू गरेसँगै बजारमा तरलता अभाव भएपछि राष्ट्र बैंक त्यसलाई निराकरण गर्न लागेको हो ।केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बजारमा तरलता अभाव नहुने बताए ।

‘नयाँ सिस्टम लागू गर्दा म्यानेज गर्न केही समस्या भएको हो,’ उनले भने, ‘तर, अब बजारमा तरलता अभाव पनि हुँदैन र ब्याजदर पनि बढ्दैन ।’ केन्द्रीय बैंकले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका बैंकमाथि अंकुश लगाइसकेको छ ।

एकल अंकमा ब्याजदर राख्न केन्द्रीय बैंक प्रतिबद्ध छ । त्यसै गरी अहिले देखिएको तरलता अभावलाई पनि कम गर्न केन्द्रीय बैंकले विभिन्न वित्तीय औजार प्रयोग गरिरहेको उनको भनाइ छ ।

बजारमा लगानीयोग्य रकम अभाव भएपछि बैंकहरू निक्षेप तान्न दौडिएका थिए । निक्षेपको ब्याज बढाउन होडबाजी नै चलेको थियो । निक्षेपको ब्याजसँगै कर्जाको ब्याज पनि बढाउन थालेका थिए ।

तर, केन्द्रीय बैंकको हस्तक्षेपपछि बैंकहरू ब्याज बढाउनबाट पछि हटेका छन् । यसरी बैंकले जथाभावी ब्याजदर बढाउन थालेपछि अर्थतन्त्रमै गम्भीर असर पर्ने भएपछि केन्द्रीय बैंकले ब्याजदर बढाउन नदिने र बजारमा तरलता अभाव पनि हुन नदिने नीति लिएको हो ।

‘बजारमा जसरी तरलता अभावको हल्ला चलाइएको छ, त्यसरी अभाव हुन केन्द्रीय बैंकले दिँदैन,’ अधिकारीले भने, ‘केही समय तरलता अभाव भएजस्तो मात्रै देखिएको हो । अहिले विस्तारै सहज हुँदै गइरहेको छ ।’

सरकारले पनि ब्याजदर र तरलतालाई सहज बनाउन पुँजीगत खर्च बढाउने गरी काम गरिरहेको छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पुँजीगत खर्च बढाउन के–के कुरामा सुधार गर्न सकिन्छ भनेर लागेको अवस्था छ ।

अहिले सरकारले टेन्डरको समयलाई २१ दिनमा झार्न खोजेको छ । त्यो व्यवस्था लागू भए पुँजीगत खर्चमा केही सुधार भई बजारमा तरलता अभावको अन्त्य हुने सरकारी अधिकारीहरू बताउँछन्

प्रतिक्रिया दिनुहोस्