२५ बैशाख २०८१, मंगलवार

 

वर्षाले कञ्चनपुरमा १२ हजार हेक्टरको धानखेती प्रभावित

यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको बताए ।

‘अहिले वडास्तरबाट क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।

’कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिँदै आएको छ । ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी र डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ ।

धानखेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन् । किसानले घरमा कुन्यु बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाइ छ ।

किसान भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तित छन् । शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताए ।

‘परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरूको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ’, उनले भने, ‘बाली काटेर थ्रेसर लगाउभन्दा एक्कासि खेतमै धान डुबेर काम नलाग्ने भयो ।

कैलाली र कञ्चनपुरमा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ । ज्ञान केन्द्रले दुई/तीन दिनभित्र क्षतिको यकिन विवरण आउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्