२५ बैशाख २०८१, मंगलवार

 

कृषि क्रान्तिले अमेरिकी नाकाबन्दी चिर्दै उभिएको क्युबा

उत्तर अमेरिकी महादेशको टापुमा रहेको सानो देश क्युबामा अर्गानिक खेतीबारे भारतीय वातावरण अभियन्ता भरत मन्साटाद्वारा लिखित ‘अर्गानिक रिभोलुसन’ पुस्तक अध्ययन गर्दा मलाई साँच्चिकै प्रेरणादायी अनुभूति भयो ।

लामो समय अमेरिकाले लगाएको नाकाबन्दीको चुनौतीलाई क्युबाले कसरी सदुपयोग गर्दै वातावरणमैत्री सफल कृषिमा परिणत गरी खाद्य सुरक्षा प्रदान गर्‍यो भन्ने कुरा अहिले समग्र विश्वका लागि पनि महत्त्वपूर्ण शिक्षा हो ।

दिगो वातावरण मैत्री कृषि अभियानका लागि क्युबाको अर्गानिक ९प्रांगारिक० खेती एक पाठशालासमेत हो ।अहिले हाम्रो देशको परिवेशलाई हेर्ने हो भने पनि कृषिक्षेत्रको विकासका लागि क्युबाबाट केही पाठ सिक्नुपर्ने हुन्छ ।कामभन्दा कुरा ठूला गर्ने राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मले क्युबाको अर्गानिक कृषिको सफल रहस्य पढ्न र त्यसलाई मनन गर्न अत्यावश्यक छ ।

क्युबामा शताब्दीऔंअगाडि परम्परागत शैलीको बहुखेती प्रणाली थियो । उपनिवेशको क्रमसँगै स्पेनी साम्राज्य फैलिँदै जाँदा पाँच लाख अफ्रिकी दासको आगमनले क्युबालाई अफ्रिकी शैलीको कृषितर्फ आकर्षित गर्‍यो । उखु र सुर्तीको एकल खेती गर्ने गरी युरोप निर्यात सुरु भयो ।

१९औं शताब्दीको सुरुवातसँगै क्युबामा अमेरिकी हस्तक्षेप पनि सुरु भयो । अमेरिकाका ठूला चिनी व्यापारीको हातमा क्युबाको धेरै जमिन पर्‍यो । एकल खेतीको क्रम व्यापक भयो ।

उखुको खेती विस्तारका लागि त्यो समयमा वन फडाँनीसमेत व्यापक भएको थियो । सन् १९३० को समयमा क्युबा संसारकै सबैभन्दा धेरै उखु उत्पादन गर्ने मुलुक बन्यो । तर जमिनको स्वामित्व पनि केही जमिनदार र अमेरिकी चिनी कम्पनीमा रहिरह्यो ।

क्युबामा फिडेल क्यास्ट्रोले सुरु गरेको संघर्षले सन् १९५९ मा क्युबाली बाटिस्टाको शासन पल्टाइदियो । सत्ता कब्जापछि नयाँ सरकारले नयाँ भूमि सुधार कानुनमार्फत भूस्वामित्वको हदबन्दी तोकिदियो ।

नयाँ सरकारसँगै रुष्ट अमेरिकाले सन् १९६० बाट चरम नाकाबन्दी सुरु गर्‍यो । क्युबाबाट तत्काल निर्यात हुने चिनी किन्न बन्द गर्नुका साथै भविष्यका लागि भएका सम्झौतासमेत रद्द गरिदियो ।

सोही अमेरिकी कदमले क्युबालाई सोभियत संघको नजिक पुर्‍यायो । सोभियत संघले क्युबाको चिनी किन्यो । बिस्तारै क्युबाको सम्पूर्ण व्यापार सोभियत संघ गुटका देशहरूमा केन्द्रित हुन पुग्यो ।क्युबाको क्रान्तिकारी सरकारले कृषिमा विविधीकरण गर्न थाले पनि अमेरिकी नाकाबन्दी र सोभियत संघसँग बढ्दो निर्भरताका कारण उखुखेतीकै बाहुल्य रहिरह्यो ।

व्यापक यन्त्रीकरण र रसायनमा आधारित खेतीको विकास पनि भइरह्यो । जबसम्म सोभियत संघमा आबद्ध देशहरूको समूह क्युबाका लागि चिनी निर्यातको राम्रो बजार र पेट्रोलयम, रासायनिक सामग्री र खाद्यान्नका लागि भरपर्दो आधारका रूपमा रहिरह्यो, तबसम्म क्युबाले आर्थिक समृद्धि राम्रै हासिल गरेको थियो ।

क्युबाले क्रान्तिपछिको तीन दशकमा कृषिको औद्योगिकीकरण तीव्र पार्‍यो । सोही अवधिमा गाउँबाट सहरतिर पनि हुलका हुल जनता झर्ने क्रम बढ्यो ।सन् १९८९ मा सोभियत संघको विघटन सुरु भएपछि समाजवादी देशहरूको आर्थिक सहयोग परिषद्अन्तर्गतका देशहरूबाट क्युबाले पाउँदै आएको व्यापारिक सुविधा अचानक खारेज भयो ।

क्युबाको अर्थतन्त्रमा नयाँ संकटको मोड पनि यहीँबाट सुरु भयो । क्यास्ट्रोको क्युबाली सरकारले सोही संकटको सामना गर्न शान्तिपूर्ण विशेष समयको घोषणा गर्‍यो ।संकटको अभावमा आफ्नो टापुलाई बचाइराख्न योजनाबद्ध लोडसेडिङ, यातायातमा साइकलको प्रयोग र ट्याक्टरको स्थानमा पशुको प्रयोगजस्ता विविध रणनीति लियो ।

आयात खाद्यान्नमा निर्भर क्युबाको अप्ठ्यारा वर्षहरूको सुरुवातपछि खाद्यान्न वितरणमा कोटा प्रणाली लागू गरियो । खाद्यान्नको कमीका कारण भिटामिन बीको अभावमा न्युरोप्याथी फैलिई ५० हजार मानिसले त्यस बेला आँखाको ज्योति गुमाए ।

धेरै क्युबाली जनताले संकटको समयमा कम्तीमा १० देखि १५ केजीसम्म तौल गुमाए । त्यस बेला केही जनताले निराशा र हताशाका कारण क्युबा छाडे ।

तर धेरैले चुनौतीका विरुद्ध खडा भएर प्रकोपलाई जित्ने साहस देखाए ।संकटलाई झन् गम्भीर पार्न अमेरिकाले नाकाबन्दी कसिलो बनाइरह्यो । अमेरिकाले क्युबामा उसका मित्रदेशका उद्योगहरूले समेत खाद्यान्न र औषधि बेच्न नपाउने नियम बनायो ।

यी र यस्ता संकट समाधान गर्न क्युबाले बाध्यतावश प्रांगारिक खेतीको थालनी गर्‍यो । सन् १९९० मा जीवन धान्नसम्म हुने अर्थ–व्यवस्थाको थालनी गरियो ।सम्भाव्य खेतीयोग्य जमिनको एक टुक्रा पनि खाली नराख्ने घोषणा भयो । कृषि रसायनको अभावका कारण स्थानीय स्तरमा जे उपलब्ध छ त्यही उपयोग गर्न कृषक विवश बने ।

यही विवशताले क्युबा प्रांगारिक कृषिमा रूपान्तरण भयो । बिस्तारै बृहत्तर पर्यावरणमैत्री कृषिको विकास हुन थाल्यो । स्थानीय रूपमै बनाइएका कम्पोस्ट र गड्यौले मल ९जैविक मल० को प्रयोग बढ्यो ।

सरकारले खाद्य ओसारपसारलाई न्यून पार्दै ‘जहाँ उपभोक्ता, त्यहीँ उत्पादन’ शैलीमा काम थाल्यो । खाली जमिन भएका कार्यालय र संस्थाले आफ्ना लागि आफैं खाद्यान्न उत्पादनको कार्यक्रम सुरु गरे ।

विकेन्द्रीकरणसँगै सरकारको नीतिले–कृषि उपजहरूको मूल्य माग र आपूर्तिका आधारमा निर्धारण गर्न पाउने व्यवस्था भयो । रक्षा मन्त्रालयले ‘खाद्य उत्पादन हाम्रो मुख्य कार्यभार हो’ भनेर घोषणा नै गर्‍यो ।

सन् १९९३ मा क्युबा सरकारले अत्यावश्यक ठानिएको साहसिक कृषि सुधार नीति लागू गर्‍यो । यसले ठूला सरकारी फर्मलाई सहकारी उत्पादनका आधार इकाई यूबीपीसी भनिने स्थानीय श्रमिकहरूबाट स्वायत्त रूपमा सञ्चालित ससाना सहकारीहरूमा टुक्य्रायो ।

सन् १९९४ को वसन्त ऋतुको आखिरीतिर राज्यको स्वामित्वमा रहेका सबै चिनी फर्महरू यूबीपीसीमा रूपान्तरित भए । यसको कुल सदस्य–संख्या १,३३,६८५ थियो ।क्युबामा रासायनिक विषादी विस्थापन गरेर जैविक नियन्त्रणका विधिहरूको प्रयोग धेरै प्रभावकारी र पर्यावरणीय दृष्टिकोणबाट समेत महत्त्वपूर्ण रह्यो ।

क्युबाली जनताले बहुखेती प्रणाली अवलम्बन गर्दै फरकफरक बाली लगाउने, बाली चक्र अपनाउने र रैथाने बाली लगाउनेजस्ता परम्परागत अभ्यासहरूको पुन थालनी गरे ।अमेरिकी नाकाबन्दी र सोभियत संघको पतनले ट्याक्टर र इन्धनको अभावमा कृषकहरू गोरुको सहारा लिन बाध्य भए । कृषिका लागि जनतामा सकारात्मक सोच बन्यो र ग्रामीण भेगमा रहेको सहरकेन्द्रित पलायन हट्यो ।

प्रकृतिको पुनर्जीवनका लागि सन् १९९० को दशकको प्रारम्भदेखि नै १ लाख हेक्टर जमिनमा हरेक वर्ष वृक्षरोपण सुरु गरियो । बाँस, निगालोलगायत बिरुवाहरूबाट सम्पूर्ण क्षेत्रमा हरियाली बनाइयो ।

सन् १९९० को सुरुमा १४ प्रतिशत जंगल भएको क्युबामा सन् २००६ मा पुग्दा बढेर २४ प्रतिशत भयो । सन् १९८९ अगाडि सहरी कृषिको प्रयोग नभएको क्युबामा संकटकै कारणले त्यसको पनि सुरुवात भयो ।

खाद्य संकट झेलेपछि अचानक र स्वतस्स्फूर्त रूपमा सहरी करेसाबारीको थालनी गरियो । सन् १९९४ मा सहरको खाली जमिनलाई खाद्यान्न उत्पादनका लागि प्रयोग गर्ने उद्देश्यसहित संसारमै पहिलोपटक हभानामा सहरी कृषि विभाग गठन गरियो ।

सन् १९९६ मा फेरि एउटा कानुन पास गरी सहरमा कुनै पनि कृषिक्षेत्रमा रासायनिक पदार्थको प्रयोगमा प्रतिबन्ध लगाइयो । त्यसै गरी सबैतिर आफ्नो सञ्जाल भएको कृषि विभागले प्रांगारिक कृषि बगैंचासम्बन्धमा असंख्य तालिम र गोष्ठीहरू चलायो ।

चरम संकटपछि उदायको प्रांगारिक कृषिले विश्व समुदायमाझ क्युबालाई नमुना बनाइदियो । क्युबामा चरम खाद्य संकटको समाधान प्रांगारिक खेती प्रणालीले गर्‍यो ।जैविक कृषिमा विश्वमै महत्त्वपूर्ण काम गरेबापत सन् १९९९ मा स्विडिस संसद्ले क्युबाली प्रांगारिक कृषि संघलाई वैकल्पिक नोबेल पुरस्कार भनिने राइट लाइभ्लीहुड पुरस्कारले सम्मानित गर्‍यो ।

सन् २००६ मा विश्व वन्यजन्तु कोषको लिभिङ प्लानेट र ग्लोबल फुटप्रिन्ट नेटवर्कको प्रतिवेदनले ‘विश्वमा क्युबा एक मात्र त्यस्तो देश हो जसले वास्तवमै दिगो विकास हसिल गरेको छ’ भनी घोषणा नै गर्‍यो ।लिभिङ प्लानेटको सन् २००६ को प्रतिवेदनले क्युबालाई उच्च तहको साक्षरता, लामो औसत आयु र खनिज पदार्थको कम उपभोग गर्ने देश पुष्टि गरेको छ ।

रासायनिक विषादीरहित सबै जैविक खानपिन, विविध खानेकुरा र सक्रिय क्रियाकलापका कारण क्युबालीहरूको स्वास्थ्यमा सकरात्मक प्रभाव छ ।विश्वभर आक्रान्त पारिरहेको मुटुरोग अन्य देशहरूमा बढिरहँदा क्युबामा भने १९७० को दशकमा भन्दा ४५ प्रतिशतले कमी आएको छ । साथै क्युबाको बाल मृत्युदर अमेरिकाको भन्दा पनि कम छ ।

त्यस्तै नेसनल जियोग्राफी पत्रिकाको एउटा लेखमा क्युबाको वातावरण, वनको संरक्षण र विस्तारका लागि जमिनका ठूला फाँटहरू छुट्याइएका कारण एकदमै चोखो रहेको भनी उल्लेख गरिएको छ ।

अर्गानिक खेतीको क्रान्तिले क्युबाको जीवनशैली र वातावरण पूर्ण रूपमा बदलिएको छ । क्युबाको अर्गानिक खेती तत्कालीन समस्याको समाधान हुँदै अहिले विश्व समुदायले अवलम्बन पर्ने पाठशाला बनेको छ ।

नेपालले पनि करिब एक वर्षअघि भारतीय अघोषित नाकाबन्दीको सामना गर्नु पर्‍यो । तर विडम्बना के छ भने कामभन्दा कुरा ठूला गर्ने प्रचलन अझै हराएको छैन ।अझै पनि परनिर्भरता व्यापक मात्रामा छ । नेपालमा उत्पादन हुँदै गरेका केही खेतबारीमा आधुनिकताका नाममा रासायनिक विषादीको प्रयोगले गर्दा खाने कुराभन्दा बढी रोगको भण्डार उत्पादन भइरहेको छ ।

त्यसै गरी हाम्रा गाउँ–बस्ती र सहर–बजारमा धेरै खेतबारी बाँझै छन् । देशमा रहेको उत्पादनशील जनशक्ति उत्पादनमा जोड दिँदैन । एक काइयो केरादेखि दाल, चामल र तरकारीसम्म विदेशको भर गर्नुपर्ने अवस्था छ ।

करिब ६ महिनासम्म भारतले नाकाबन्दी गर्दासमेत नेता र जनताको होस खुल्न सकेको छैन । बजारदेखि गाउँघरसम्मै आयात गरिएको वस्तु किनेर खानेको भिडभाड मात्रै छ ।

हो अहिले नेपालले क्युबाका फिडेल क्यास्ट्रोजस्ता नेता चाहेको छ । अमेरिकाले गरेको लामो नाकाबन्दीविरुद्ध जुट्दै क्युबामा भएको एक सफल अर्गानिक खेतीको रहस्योद्घाटन हाम्रो देशमा पनि लागू गर्नुपर्ने बेला आएको छ ।

बाउबाजेले गरेको बहुखेती कृषि–प्रणाली र जैविक विषादीको सफलताबारे क्युबाबाट केही सिक्नुपर्ने देखिन्छ । सहकारीको असल प्रयोग र खेतीपातीसम्बन्धी उपर्युक्त नीतिद्वारा क्युबाले विश्वलाई चकित पारेको विषय साँच्चिकै नेपाली जनताका लागि पनि ज्यादै उपयोगी छ ।

क्युबाले चरम संकटपछि सुरु गरेको अर्गानिक खेती, सहकारीको माध्यमबाट गोलबद्ध पार्ने नीति र जमिनलाई बाँझो नराख्ने कार्यबाट हामीले पनि केही सिक्नुपर्ने बेला आएको छ ।देशमा खाद्य सुरक्षाका लागि हामी पनि क्युबाले सुरु गरेको अर्गानिक खेतीबाट केही सिकौं । आफूलाई बाँच्नका लागि चाहिने खाद्य वस्तुको उत्पादन आजैदेखि सुरु गरौँ ।

( थापा डिभिजन वन कार्यालय, बागलुङका सहायक वन अधिकृत हुन् )

प्रतिक्रिया दिनुहोस्