२४ बैशाख २०८१, सोमबार

 

आईसीएफसीले बेच्न लागेको एनबी बैंकको संस्थापक सेयर चौधरीले किन्ने

बंगलादेशी साझेदार आईएफआईसी बैंकले बेच्न लागेको नेपाल बंगलादेश बैंकको संस्थापक सेयर उद्योगपति विनोद चौधरीले किन्ने भएका छन् ।

चौधरी र आईएफआईसीबीच साताभित्रै सेयर खरिदबिक्रीको सम्झौता हुन लागे पनि रकम भने खुलाइएको छैन ।नेपाल राष्ट्र बैंकले एनबीलाई नबिलमा मर्ज गर्ने सर्तमा चौधरीलाई सो सेयर खरिद गर्न अनुमति दिएको हो ।

आईएफआईसीको एनबी बैंकमा ४०.९१ प्रतिशत स्वामित्व छ । मंसिर २ गते सम्पन्न साधारणसभाले १२ प्रतिशत अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसपछि आईएफआईसीको सेयर संख्या बढ्नेछ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । यसअघि उसले एनबीमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक बिक्रीको प्रस्ताव गरेको हो ।

बोनस सेयर वितरणपछि आईएफआइसीको सेयर संख्या झन्डै ४५ लाख कित्ता बढ्नेछ । सम्झौता राष्ट्र बैंकबाट स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।

आईएफआईसीले संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएपछि नबिलसँग मर्जमा जान एनबी बैंकलाई दबाब परेको छ । एनबीमा लक्ष्मीबहादुर समूहको १०.७२ प्रतिशत सेयर हिस्सा छ ।

यस्तै सर्वसाधारणको ४८.३७ प्रतिशत छ । बैंकको ३७१ औं सञ्चालक समिति बैठकले आईएफआईसीले संस्थापक सेयर बिक्रीका लागि दिएको निवेदनलाई स्वीकृत गरेको थियो ।

सेयर किन्न प्रस्ताव गर्ने लक्ष्मीबहादुरलाई आईएफआईसीका प्रतिनिधिले नबिलसँग मर्जमा जानका लागि सहयोग गर्न भनेका थिए । यसअघि पनि नबिलसँग मर्ज गर्ने भन्दै एनबीको सेयर मूल्यमा उछाल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्