२२ बैशाख २०८१, शनिबार

 

जो जापानको तामा नदीमा अस्ताए

बागलुङ – जापानमा छुट्टिको दिन थियो । राजधानी टोकियोको ताचिकावामा बस्ने १४ वर्षीय देवेन पाण्डे र १३ वर्षीय क्रिस पाण्डे फुटबल खेल्न आइतबार नजिकैको पार्कमा पुगे ।

अभिभावकको अनुमति लिएरै घरबाहिर निस्केका उनीहरु फुटबल खेलेपछि गर्मी छल्न तामा नदीमा गए । केहीछिन त्यहाँ पौडी खेलेर रमाए । दुर्भाग्य त्यहीबीच देवेन र क्रिस नदीको मझधारतिर हुत्तिए । गहिरोमा पुगेपछि पौडिन सकेनन् ।

तामा नदीले दुवैलाई बगायो । त्यो दृश्य उनीहरुसँगै पौडी खेल्न गएका अर्का ९ वर्षीय बालकले नदी किनारबाट हेरिरहेका थिए । घटनास्थल नजिकै रहेका स्थानीय व्यक्तिलाई ति बालकले घटनाबारे सुनाए ।

पौडी खेल्ने क्रममा दुई नेपाली बालकलाई नदीले बगाएको खबर फैलिएपछि तत्कालै उद्धारकर्ता नदीमा खटिए । ४० मिनेटपछि नदीमा हराएका देवेन र क्रिस भेटिए । तर, अस्पताल पु¥याउँदानपु¥याउँदै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरिदिए ।

यसरी कल्कलाउँदो उमेरका दुई नेपाली बालकको इहलिला पराइ भूमिमा समाप्त भयो । छुट्टि मनाउन घरदेखि निस्केका उनीहरु कहिल्यै नफर्कने गरी तामा नदीमा अस्ताए ।

बागलुङको गलकोट नगरपालिका–६ चरौँदीका क्रिस जापान पुगेको धेरै भएको थिएन । बुबा खिमबहादुर पाण्डेले उतै पढाउने भनेर क्रिसलाई गत वर्ष जापान लानुभएको थियो । उनले त्यहीँको विद्यालयमा पढ्न थालेको तीन महिना मात्र पुगेको थियो । क्रिसले सानै उमेरमा आमा मैनालाई पनि गुमाउनुपरेको थियो ।

आइतबारको घटनामा ज्यान गुमाउने बाँकेको कोहलपुर नगरपालिका–१२ का देवेन र बागलुङका क्रिस नाताले मामा–भान्जा हुन् । देवेनको मामाघर गलकोट–६ चरौँदीमा हो । देवेन दुई वर्षदेखि बुबा दामोदर र आमा सरिता पाण्डेसँगै जापानमा बस्दै आएका थिए ।

देवेन र क्रिस धेरै मिल्ने साथी थिए । स्कुल छुट्टि हुँदा उनीहरु सँधै घर नजिकैको पार्कमा फुटबल खेल्न जान्थे । गलकोट समाज जापानका सल्लाहकार भवानी पन्तले दुई बालकको निधनको घटनाले जापानमा रहेको नेपाली समुदाय स्तब्ध बनेको बताउनुभयो । उहाँले यस्तै प्रकृतिका अरु घटनामा पनि नेपालीहरुले ज्यान गुमाइरहेको उल्लेख गर्नुभयो ।

“बिदाको दिन यहाँ पार्क, नदी र समुन्द्रको किनारतिर घुमफिरमा जाने चलन छ”, सल्लाहकार पन्तले भन्नुभयो, “बालबालिका मात्र नभएर ठूलो उमेरका व्यक्ति पनि पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका घटनाहरु छन् ।”

छुट्टि मनाउन त्यस्ता ठाउँहरुमा जाँदा अभिभावक र स्वयं व्यक्तिले पनि सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । अहिले जापानमा गर्मी याम चलेकाले छुट्टीका दिन नेपालीहरु नदी र समुन्द्र छेउछाउ घुम्न जाने गरेका छन् । जापानमा सातामा दुई दिन बिदा हुन्छ ।

शनिबार घरधन्दालाई दिएर आइतबार नेपालीहरु सपरिवार घुमफिरमा निस्कने गरेको समाजका सदस्य खगराज गौतमले बताउनुभयो । आइतबारको घटनाले जापानमा बस्ने सबै नेपालीलाई झस्काएको उहाँको भनाइ छ । दिवङ्गत दुवै बालकको बिहीबार जापानमै अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्