२६ बैशाख २०८१, बुधबार

 

मलेसियाको विस्ट्रन टेक्नोलोजी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने

- पहिलो चरणमा ४ सय ५० जना श्रमिक जाँदै

काठमाण्डौ – मलेसियाको विस्ट्रन टेक्नोलोजी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । मङ्गलवार भएको सम्झौतापत्रमा विस्ट्रन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णु बहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नुभयो ।

विस्ट्रन टेक्नोलोजी कम्पनी विश्वकै ठूलो आईटी कम्पनी हो ।विस्ट्रन टेक्नोलोजी कम्पनीले आकर्षण इन्टरनेशनलबाट एक सय ४० महिला र ६० पुरुष गरेर २ सय जना र लालधनुष इन्टरनेशनलबाट एक सय ७५ महिला र ७५ पुरुष गरेर २ सय ५० जना श्रमिक मलेसिया जाँदैछन् ।

हिलो चरणमा चार सय ५० श्रमिक लैजाने कार्यक्रम रहेको छ ।यो कम्पनीबाट नेपाली श्रमिकले न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका साथै भत्ता र बोनस पाउनुको साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

कम्पनीले यही बुधवार र बिहीवार श्रमिक छनोटका लागि अन्तर्वार्ता लिने र छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले जानकारी दिनु भयो ।

यो कम्पनीको भारत,चीन ताइवान, मेक्सिको, फिलिपिन्स,चेक रिपब्लिकमा उद्योग रहेको छ भने मलेसियामा दुईटा उद्योग संचालनमा छन् ।

कम्पनीमा श्रमिकको सुरक्षा र स्वास्थ्यको राम्रो व्यवस्था भएको र नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीच ज्याला तथा अवसरमा कुनै विभेद नभएको कम्पनीले जनाएको छ ।कम्पनीमा श्रमिकको आरामदायी बसोवासका लागि अपार्टमेन्ट को समेत व्यवस्था रहेको छ ।सबै देश गरी यो कम्पनीमा ८० हजार श्रमिक कार्यरत छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य,तलब र सुविधाको बारेमा आकर्षण इन्टरनेशनल कम्पनी ज्यादै सचेत रहेको आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु बहादुर केसीले नयाँ विश्वलाई बताउनु भयो ।

मलेसियामा पठाउन लागिएको श्रमिकको न्यायोचित भर्ना, सुखद यात्राको लागि आफनो कम्पनी लागि परेको र श्रमिकको हित गर्ने नमूना मेनपावर कम्पनीको रुपमा अगाडि बढ्न लागेको अध्यक्ष केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्