५ जेष्ठ २०८१, शनिबार

 

गलकोटमा गठवन्धनका उम्मेदवारहरुसँग शैक्षिक अन्तरक्रिया

गलकोट नगरपालिकामा वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वागलुङ निर्वाचन क्षेत्र नम्वर २ का गठवन्धनका प्रतिनिधीसभा उम्मेदवार तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यालय समितिमा पुगेको बताउनुभयो।

उहाँले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्वय गरी चाँडै टुंग्याइने जानकारी बताउनुभयो । “शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,” उहाँले भन्नुभयो, “सरकारको शुन्य लागतमा मर्यादाक्रमको फाइल गृहमन्त्रालयसँग समन्वय गरी टुंग्याउने चरणमा छौं ।”
मन्त्री पौडेलले शिक्षा मन्त्रालय तीन प्रकारको सुधारमा केन्द्रीत रहेको बताउनुभयो।  उहाँले भन्नुभयो “नीतिगत र कानुनी सुधार सरकारले गर्ने हो। शिक्षण सिकाई सुधार गर्ने काम शिक्षकको हो ।”

१० वर्षे विद्यालय सुधार योजना कार्यक्रम अघि बढेको बताउँदै निर्वाचनपछि हाल विद्यालयमा रहेका शिक्षकलाई व्यवस्थापन गर्ने गरी नयाँ शिक्षक पठाइने बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उहाँको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्‍याएको बताउनुभयो ।

शिक्षक सेवा आयोगको ११ औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लिएको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले शिक्षक महासंघका ५१ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताउनुभयो । विद्यालय समायोजनको प्रकृया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयहरुको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले गलकोट र ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने गरी निर्णय भएको समेत बताउनुभयो ।

संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजाका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा गण्डकि प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि चन्द्र वहादुर वुढा सागर, वागलुङ निर्वाचन क्षेत्र नम्वर २ प्रदेश क का गठवन्धनका साझा उम्मेदवार जित शेरचन, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य पुस्कर सापकोटा, एकिकृत अखिल नेपाल

शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झपिन्द्र क्षेत्री, नेपाल शिक्षक संघ गण्डकि प्रदेशका महा सचिव सागर खरेल, अखिल नेपाल शिक्षक संघ वागलुङका अध्यक्ष मित्रदत्त ढकालले अन्तरक्रियात्मक मन्तव्य राख्नुभएको थियो ।

वागलुङ निर्वाचन क्षेत्र नम्वर २ प्रदेश क अन्तर्गतका वडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाका शिक्षकहरुको उपस्थिती रहेको कार्यक्रम एकिकृत अखिल नेपाल शिक्षक संगठनका गलकोट नगरसमितिका अध्यक्ष हेम वहादुर वुढाथोकिको अध्यक्षता,

नेपाल शिक्षक संघका डिलाराम शर्माको स्वागत तथा अखिल नेपाल शिक्षक संघ गलकोट नगर समितिका अध्यक्ष सोमलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्