५ जेष्ठ २०८१, शनिबार

 

विद्यामन्दिर पुस्तकालयको स्थापना दिवस मनाइने

बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङको ७६औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइने भएको छ । देशकै पुरानो र अग्रणीमध्येको उक्त पुस्तकालय विसं २००३ श्रीपञ्चमी पर्वका दिन स्थापना गरिएको थियो ।

सोही तिथीलाई पारेर यो वर्षदेखि पुस्तकालयको स्थापना दिवस मनाउन लागिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन मङ्गलबार सरसफाइ सचेतना र दिवसको प्रचारात्मक कार्यक्रम गरिनेछ ।

बुधबार बिहान प्रभातफेरिको आयोजना गरिएको छ । प्रभातफेरिमा पुस्तकालय परिवार, सदरमुकामस्थित विद्यालयका विद्यार्थी, शिक्षक, सामाजिक अगुवा, शिक्षासेवीसहित पुस्तकालप्रेमीको सहभागीता रहने जनाइएको छ ।

सोही दिन दिउँसो पुस्तकालयद्वारा सञ्चालित बाल विकास केन्द्रका बालबालिकाको निःशुल्क दन्त परीक्षण गर्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताउनुभयो । बिहीबार श्रीपञ्चमी पर्वका दिन दिवसको मुख्य समारोह आयोजना गरिनेछ ।

सो दिन सरस्वती पूजा, पुस्तकालयको महत्वबारे प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई झोला र स्टेनशनरी सामग्री वितरण, दाताहरुबाट पुस्तकालयलाई सहयोग हस्तान्तरणलगायत कार्यक्रम हुने पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

पुस्तकालयको इतिहासमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको उहाँको भनाइ छ । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् ।

पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्