२१ बैशाख २०८१, शुक्रबार

 

विश्व राजनीतिको प्रभाव नेपालमा पर्‍यो – मुख्यमन्त्री अधिकारी

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्व राजनीतिको प्रभाव नेपालमा पर्न लागेको बताउनु भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले राष्ट्रपति निर्वाचनमा शक्तिशाली देशहरुको चासो प्रति संकेट गर्नु हुँदै मित्र देशहरुको राम्रो सुझाव भए लिने अनावश्यक सुझाव भए लिन आवश्यक नभएको बताउनु भयो ।

नेपाली राजनीतिमा देखिएको तरंग र अस्थिरताले मुलुकको हित नगर्ने अधिकारीको भनाई थियो ।प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न आम्दानी र पुँजीगत खर्च बढाउनुपर्ने बताउनु भयो । प्रदेश सरकारलाई थप बलियो बनाउन केन्द्रीय सरकारले प्रभावकारी कार्यक्रम ल्याउन पर्छ ।

दिगो आर्थिक विकासको लागि विकास निर्माणको काम सहि ढंगले कार्यान्वयन गराउन प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।संघीय सरकारमा हलचल आउँदा प्रदेशमा पनि प्रभाव पर्छ, संघीयतामा यस्तो नहुनपर्ने हो अधिकारीले भन्नु भयो ।

हामी सबैले जहिले पनि प्रदेश सरकारलाई बलियो बनाउनु पर्छ उहाँले भन्नु भयो । बागलुङको कृषि ज्ञान केन्द्र कार्यालय र बागलुङ नगरपालिकाले मिलेर काम गर्नु पर्ने र यसको लाभ जनताले नै पाउने अधिकारीले बताउनु भयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, सहसचिव सृजना पन्तको स्वागत र सहसचिव तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्