७ जेष्ठ २०८१, सोमबार

 

सञ्चालक भागेपछि जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा इमेज सहकारीमा सिल

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा सिल गरेको छ ।

शुक्रबार राति ९ बजे बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको इमेज सहकारीको कार्यालयमा सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी रोशन कुमारी श्रेष्ठको नेतृत्वमा हल्लन चोकमा रहेको कार्यालय सिल गरिएको हो ।

बचतकर्ताहरुको कागजातहरु सुरक्षित होस र अनुसन्धानमा सहयोग पुगोस भनि इमेज सहकारीको बागलुङ बजार कार्यालयसहित गलकोट हटिया र बुर्तिबाङ बजारमा रहेको कार्यालयहरुमा पनि सिल गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी रोशन कुमारी श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

हल्लन चोकको कार्यालय सिल गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्का, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, सहकारी शाखाका प्रमुख प्रेम शर्मा, बचतकर्ताहरु र इमेज सहकारी पीडित संघर्ष समितिका अध्यक्ष दिल बहादुर कार्कीसहिति समितिका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

इमेज सहकारीको गलकोट हटिया र बुर्तिबाङ बजारमा रहेको इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा पनि सिल गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

गलकोट हटिया र बुर्तिबाङ बजारमा इलाका प्रशासन कार्यालय, प्रहरी, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधिहरु, सहकारी शाखा र बचतकर्ताहकरुको उपस्थितिमा सिल गर्ने कार्य भइ रहेको प्रहरी नायब उपरीक्षक केसीले बताउनु भयो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवा, अन्य संचालक सहकारीको अराबौं रकम हिनामिना गरी बैशाख ५ गते, शुक्रबारदेखि फरार छन् ।

अहिले मुलुकभर ३० हजार भन्दा बढी सहकारी संस्था रहेका छन् भने नियमन गर्ने ७ सय ६१ वटा नियामक निकाय छन् । सहकारी विभागको क्षेत्रभित्र हाल १ सय २६ सहकारी संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्