१० श्रावण २०८३, आईतवार

 

आइफोनको लोभमा साथीबाटै भएको थियो लजिन थापाको हत्या

बागलुङ । बडिगाड गाउँपालिका–१ का १७ वर्षीय विद्यार्थी लजिन थापाको हत्या आइफोनकोे विषयमा भएको विवादपछि भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठमाडौंको धुम्बाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन साउन १ गते राति साथी अशिम वनको जन्मदिन मनाउन बडिगाड–१ स्थित दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए ।

त्यहाँ लजिनसहित सात जना साथीले मदिरा सेवन गरी रात बिताएका थिए । बिहानपख घर फर्कनेक्रममा थापाको मोबाइल खोस्ने क्रममा हत्या भएको पाइएको छ । साउन २ गते बिहान करिब २ः३० बजे सबैजना घर फर्कने क्रममा छुट्टिएका थिए ।

तर लजिन घर नफर्किएपछि परिवारले भोलीपल्ट मात्रै प्रहरीलाई जानकारी गराएको थियो । स्थानीय प्रहरी, गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, ड्रोन, तालिमप्राप्त खोजी कुकुर तथा स्थानीयको सहयोगमा व्यापक खोजतलास गर्ने क्रममा आठ दिनको दिन थापाको सव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी उपरिक्षक फणिन्द्र प्रसाइले बताउनुभयो।

अनुसन्धानका क्रममा शंकास्पद देखिएका बडिगाड–१ का २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय अशिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा रेमबहादुर विक र ददी परियारले मोबाइलको विषयमा लजिनसँग विवाद भएको स्वीकार गरेका थिए । उनीहरूले घटनापछि लजिनलाई विभिन्न स्थानमा लगेर छाडेको भन्दै फरक–फरक बयान दिएका थिए ।

तर ती स्थानमा खोजी गर्दा लजिन फेला परेका थिएनन् । साउन ९ गते बिहान बडिगाड–१ स्थित मनखोलामा लुकाइएको अवस्थामा सडिगल्न थालेको लजिनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार साउन २ गते बिहान करिब ४ बजे रेमबहादुर विक र ददी परियारले लजिनसँग उनको आईफोन मागेका थिए । मोबाइल दिन अस्वीकार गरेपछि विवाद चर्किएको र दुवैले कुटपिट गरी हत्या गरेर शव आद्दा घण्टा बोकेर मनखोलामा लुकाएको पाइएको थियो ।

तस्वीर : दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung