२ जेष्ठ २०८१, बुधबार

 

शिव शिखरका पूर्वअध्यक्ष शर्मा भारतमा विधायकको घरबाट पक्राउ

काठमाडौं। बचतकर्ताहरुको अरबौं ठगेर भागेका शिव शिखर बहुउद्देश्य सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले शर्मालाई भारतबाट पक्राउ गरेर ल्याएको हो ।

उनी मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएका थिए । सीआईबीले भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको  सूचना पाएपछि भारतीय प्रहरीको सहयोगमा शर्माको खोजी तीव्र बनाएको थियो ।

९० दिनदेखि भारत बस्दै आएका शर्मालाई भारतको मुम्बाईबाट लखनउ हुँदै काठमाडौं ल्याएको हो।

पीडित बचतकर्ताहरुले बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएपछि शर्मा विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।शर्मा संचालक भएको तुलसी सहकारीमा पनि अनियमितता भएको उजुरी आएपछि मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै, अन्य ७ जना संचालकहरु फरार छन्।यसअघि बचतकर्ताहरुको अरबौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका तीनजनालाई जेठ २५ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकहरु पुष्कर मल्ल र अमिस राजभण्डारी तथा सो संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मालाई थुनामा पठाउने आदेश दिएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० जनाविरुद्ध सरकारी वकिलमार्फत भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

भक्तपुरका एक हजार चार सय ३९ जना बचकर्ताहरुले ७५ करोड ३२ लाख रुपैयाँको सिआइबीमा जाहेरी दिएका थिए ।शिव शिखर सहकारीको ३५ जिल्लामा शाखा रहेको र एक लाखभन्दा धेरै बचतकर्ताहरुको करिब १४ अर्ब रुपैयाँ संचालकहरुले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सीआईबीको प्रारम्भिक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप देखिन्छ। शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्माले सहकारीका बचतकर्ताको बचत सहकारीको नियम विपरित विभिन्न कम्पनीमा लगाएको गरेको थियो। शिवशिखर सहकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले सहकारीको रकम करिब तीन दर्जन कम्पनीमा लगानी गरेको भेटिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्