२० बैशाख २०८१, बिहीबार

 

प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेँ, सुन तस्करीमा माओवादी नेता भएपनि छोडिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले सुन तस्करी प्रकरणमा पार्टीका नेता र परिवार समेत कारबाहीमा पर्ने बताएका हुन् ।

सरकारले गरिरहेको अनुसन्धान जारी रहेकोले निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले कारवाहि अगाडि बढाएको बताउनु भयो । सुन तस्करी प्रकरणमा माओवादीका उपल्लो तहका नेता र तिनका सन्तानको नाम संचार माध्यममा आउन थालेपछि मन्त्री श्रेष्ठको यस्तो भनाई बाहिर आएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा सरकारले भ्रष्टाचारको फाइल खोलेको बताउनु भयो ।सुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका र छोरा राहुल महरा, उपमहासचिव वर्षमान पुनको समेत नाम जोडिएर समाचार संचार माध्यममा आउन थालेको छ। उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ। बुधवारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्