४ जेष्ठ २०८१, शुक्रबार

 

घर घरमा माओवादी अभियान लैजाने माओवादी केन्द्र बागलुङको विस्तारित बैठकको निर्णय

बागलुङ । घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङले तीन महिने विशेष रुपान्तरण अभियान शुरु गर्ने भएको छ । बिहिवार बागलुङ बजारमा भएको नेकपा माओवादी केन्द्र बागलुङ विस्तारित बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी विघटनको अवस्थामा पुगेको भन्दै नेतृत्वको चर्को आलोचना भएपछि तीन महिने अभियान लिएर सबै जनताको घरमा पुग्ने निर्णय गरे अनुसार तीन महिने अभियान सुरु भएको हो । नेकपा माओवादी केन्द्र बागलुङको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले यो देशको परिवर्तन र समृद्धि  एजेण्डा माओवादीको भएको दावी गर्नु भएको छ । उहाँले सुशासन ,सामाजिक न्याय र समृद्धि क्षेत्रमा पार्टी र सरकारले अभियान थालेको बताउनु भयो ।

पौडेलले देशको परिवर्तनका लागि माओवादीले गरेको त्याग र सोहि परिवर्तनले नै गणतन्त्र, पछि परेका जात, वर्ग, लिंग, क्षेत्रको अधिकार सुनिश्चित गरेको तर यसको श्रेय लिन नसकेको बताउनुभयो ।

पार्टीको तीन महिने अभियानमा जनताको घरघरमा पुगेर नयाँ सन्देश प्रवाह गराउने पार्टीको अभियान रहेको उहाको भनाई छ । पौडेलले सबै जिम्मेवारी लिएका नेता कार्यकर्तालाई पहिला नागरिकका घरमा पुगेर पार्टीको गिरेको साख फर्काउन आग्रह गर्नु भयो ।

माओवादीले बागलुङका जिल्ला,पालिका र वडाहरुमा विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ । बागलुङ जिल्ला इन्चार्जमा म्याग्दीका नेता गोविन्द पौडेललाई जिम्मेवारी दिईएको छ । कार्यक्रममा माओवादीका केन्द्रिय सदस्य हरि अधिकारीले २१ ओैं शताब्दीको समाजवाद स्थापना गर्न माओवादीका सम्पुर्ण नेता र कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो ।

माओवादीको समाजवाद र अरुले भन्ने गरेको समाजवाद फरक रहेको बताउनुहुदैं यसको प्रचार प्रसारको लागि सबै लाग्नु पर्ने अधिकारीको भनाई थियो । अभियान ३ महिना चल्ने र अभियानमा २० प्रतिशत जनताको सहभागी हुनै पर्ने बताउनु भयो । वडामा भएका सबैलाई अभियानका जिल्ला इन्चार्ज गोविन्द पौडेलले बागलुङ जिल्ला माओवादी आन्दोलनको आधारभूमी र सचेत नागरिकले भरिएको जिल्ला भएकोले पुन बागलुङ जिल्ला माओवादी मुद्दामा एक हुने विश्वास व्यक्त गर्नु भयो ।

बागलुङ जिल्लाको ८५ वडामा ईन्चार्ज जिम्मा पाएका नेताहरुले पार्टीको विधान, दस्तावेज र पार्टीको झण्डा राख्न पौडेलले आग्रह गर्नु भयो । बैठकमा केन्द्र र प्रदेशले गरेका पार्टीका निर्णय र अभियान बारेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले जानकारी दिनुभयो।

पालिका स्तरमा पार्टीको अवस्था बारेमा दस वटै स्थानीय तहका पार्टी प्रतिनिधिले रिपोर्टिङ गर्नुभएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय बागलुका अध्यक्ष राजिव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्