४ जेष्ठ २०८१, शुक्रबार

 

माओवादी केन्द्र पर्वतले तीन महिने विशेष रुपान्तरण अभियान संचालन गर्ने

घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पर्वतले तीन महिने विशेष रुपान्तरण अभियान शुरु गर्ने भएको छ ।

शुक्रवार पर्वतको कुश्मा बजारमा भएको नेकपा माओवादी केन्द्र पर्वतको विस्तारित बैठकले केन्द्रीयले संचालन गरेको अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाइ वडा कमिटीलाई सुदृढ गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागेको छ ।

त्यसको तयारीका लागि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले अन्तरक्रिया गरेको छ । सो अवसरमा बोल्दै माओवादीका केन्द्रिय सदस्य हरि अधिकारीले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका लागि जनदवाव सिर्जनासँगै पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान संचालन गरेको बताउनु भयो ।

अधिकारीले समाजवाद स्थापना गर्न माओवादीका सम्पुर्ण नेता र कार्यकर्ता लाग्नु पर्ने भन्दै संगठन सुदृढीकरण गर्दै एकताबद्ध भएर अघि बढेमा फेरि पनि देशको नेतृत्व माओवादीले लिन सक्ने बताउनु भएको थियो ।

कार्यक्रममा पर्वत जिल्ला इन्चार्ज बलावती शर्मा, म्याग्दी जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल लगाएतले सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने अभियान रहेको भन्दै सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने बताए ।
पालिका स्तरमा पार्टीको अवस्था बारेमा सात वटै स्थानीय तहका पार्टी प्रतिनिधिले रिपोर्टिङ गर्नुभएको थियो । सत्ता प्राप्तिका लागि केन्द्रित हुंदा पार्टी संगठन धरासयी भएको भन्दै केन्द्रिय समितिमा व्यापक आलोचना भएपछि माओवादीले अभियान सञ्चालन गर्ने भएको हो ।

३ महिना चल्ने र अभियानमा ६ जना केन्द्रिय सदस्य तथा १ प्रदेश उपाध्यक्ष गरि ७ जनालाई ७ स्थानिय तहमा पार्टीले खटाएको छ । जिम्मेवारी लिएर आएका नेताहरु ३ महिना सम्म वडा तथा टोलमा पुगेर काम गर्ने माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य नेता लोकराज आचार्यले जानकारी दिनु भयो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्वतका संयोजक मनरुपा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। नेकपा माओवादी केन्द्रले देश भर तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्