३ जेष्ठ २०८१, बिहीबार

 

कसरी संम्भव भयो इजरेलमाथि हमासको भीषण आक्रमण : प्रश्न छन्, तर उत्तर छैन

“हामीलाई थाहा छैन, त्यो कसरी हुन सक्यो।”

यति बृहत् स्रोतसाधन हुँदा पनि इजरेली गुप्तचरले हमासको आक्रमणको भेउ किन पाएन भनेर मैले सोध्दा इजरेली अधिकारीले यस्तो प्रतिक्रिया दिइरहेका छन्।

दर्जनौँ सशस्त्र प्यालेस्टिनी बन्दुकधारीहरू इजरेल र गाजा स्ट्रिपबीचको कडा सुरक्षा पहरासहितको सीमा पार गर्न सफल भएका थिए। शनिवार मात्रै हजारौँ रकेटहरू गाजाबाट इजरेलतर्फ प्रहार गरिएका थिए।

इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयास हुँदा पनि कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अनौठो हो वा यदि उनीहरूले आकलन नै गरेको भए पनि त्यसमा कदम चाल्न विफल भए।

इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ।

प्यालेस्टाइनको लडाकु समूहसहित उसका एजेन्ट र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन्।

विगतमा उसले कतिपय विद्रोही नेताहरूलाई उनीहरूको आवतजावतबारे ठ्याक्कै वास्तविक सूचना लिएको आधारमा हत्या समेत गरिदिएको थियो।

कतिपय अवस्थामा एजेन्टहरूले ती व्यक्तिका कारमा जीपीएस ट्रयाकर राखिदिएका भरमा त्यस्ता हत्या ड्रोन आक्रमणबाट गरिएका थिए। कतिपय समयमा मोबाइल फोन विस्फोटन गराइएको थियो।

गाजा र इजरेलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामेरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ।

सीमामा लगाइएको बारमाथिको धारिलो तारलाई यस पटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानी अवरोध’ का रूपमा कतिपयले लिएका छन्।

तर हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङको मद्दतले इजरेलभित्र प्रवेश गरेका छन्।

इजरेलको नाकैमुनि यस्तो सुनियोजित र जटिल हमलाको तयारी गर्न अभूतपूर्व बन्दोबस्त र सुरक्षाको व्यवस्था हमासले गरेको हुनुपर्छ।

हजारौँ रकेटहरू प्रहार गर्न त्यही स्तरमा ती अस्त्रहरूको भण्डारण र व्यवस्थापन गर्नु साधारण होइन।

इजरेली सञ्चारमाध्यमले तुरुन्तै कसरी यस्तो भयो भनेर देशको सैनिक र राजनीतिक नेतृत्वमाथि प्रश्न गरेको छ।

एक समयमा उसका शत्रुले ठ्याक्कै ५० वर्षअघि यस्तै आश्चर्यजनक रूपमा इजरेलमाथि आक्रमण गरेका थिए। सो युद्धलाई योम किप्पर युद्ध भनिन्छ जुन अक्टोबर १९७३ मा भएको थियो।

इजरेली अधिकारीहरूले मसँग कुरा गर्दै एउटा प्रमुख अनुसन्धान अघि बढाइएको भन्दै अहिले उठेका प्रश्नहरू ‘वर्षौँसम्म उठिरहने’ बताएका छन्।

तर अहिलेको इजरेलका प्राथमिकताहरू अरू नै छन्। उसले दक्षिणी सीमाबाट भइरहेको घुसपैठलाई नियन्त्रण र दमन गर्नुपर्ने छ भने सीमा पर्खालको इजरेलतर्फको भूभागका कैयौँ समुदायमाथि नियन्त्रण कायम गरेका हमास लडाकुहरूलाई त्यहाँबाट हटाउनुपर्नेछ।

बन्धक बनाइएका आफ्ना नागरिकलाई उसले सशस्त्र उद्धार मिसन वा वार्तामार्फत् छुटाउनुपर्नेछ।

इजरेलमाथि रकेट हमला गर्ने ठाउँहरूलाई उसले निमिट्यान्न पार्ने प्रयास गर्नेछ। तर त्यो लगभग असम्भव काम हो किनभने लगभग जहाँसुकैबाट कुनै भेउ नै नदिईकनै त्यसरी आक्रमण गर्न सक्ने स्थिति छ।

र, सम्भवतः इजरेलका लागि सबैभन्दा ठूलो चिन्ता भनेको उसले हमासले गरिरहेको अस्त्रको अनुरोधमा अरूलाई पर्नबाट रोक्नु र यो तनावलाई वेस्ट ब्याङ्कसम्म फैलनबाट रोक्नु हो।

अनि सम्भवतः भारी अस्त्रले सुसज्जित हिजबुल्लाहलाई उत्तरी सीमाको लेबननबाट द्वन्द्वमा नतान्नु भन्ने हो।

  • फ्रयाङ्क गार्डनर
  • Role,बीबीसी सुरक्षा संवादादता
  • बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्