२ जेष्ठ २०८१, बुधबार

 

इजरायल आक्रमणका ‘मास्टरमाइन्ड’, जो पाँच हत्याप्रयासबाट बच्न सफल भएका थिए

बजिरहेको आवाज शान्त र सटीक थियो। तर, त्यसले डरलाग्दो सन्देश दिइरहेको थियो।

‘हाम्रा मानिसहरुमाथिको निरन्तरको अपराध, हाम्रो भूमिमा कब्जा गरेर चलाइएको ताण्डव र अन्तर्राष्ट्रिय कानुन तथा संकल्पको उल्लंघन र अमेरिका अनि पश्चिमाहरुको समर्थनलाई मध्यनजर गर्दै हामीले यी सबैलाई अन्त्य गर्ने निर्णय गरेका छौँ,’ छायाँमा छेलिएका वक्ताले भने, ‘ताकि दुश्मनले बुझोस्, बिनाकुनै जवाफदेही उसले मोजमस्ती गर्न पाउँदैन।’

यो आवाज शनिबार इजरायलमाथि आक्रमण सुरु भएको केही घण्टाभित्र सार्वजनिक भएको थियो।

र, त्यो आवाज प्यालेस्टाइनी सशस्त्र समूह हमासका सैन्य विभाग प्रमुख मोहम्मद देइफको भएको बताइएको छ। जो इजरायलभित्र हमासको घुसपैठ र आक्रमणका ‘मास्टरमाइन्ड’ हुन्।

शनिबार सबेरै भएको सो आक्रमणमा परी इजरायलमा सात सयभन्दा बढी मानिस मारिएका छन् भने दुई हजारभन्दा बढी घाइते भएका छन्। यससँगै इजरायलविरुद्ध देइफको दुई दशक लामो अभियानले एउटा क्रुर र अप्रत्याशित मोड लिएको छ।

देइफको सन्देश प्रसारण भइरहँदा पनि हमासका सयौँ लडाकु गाजापट्टी र इजरायली भूमिको बीचमा लगाइएको बार तोडेर हजारौँ रकेटहरुको आडमा दक्षिणी इजरायलतर्फ दौडिरहेका थिए।

केही घण्टाभित्रै हमासले इजरायलमाथि अभूतपूर्व आक्रमण गर्‍यो र करिब एक सय जनलाई बन्दी बनाएर गाजाभित्र ल्यायो।

हमासको सामाजिक सञ्जालहरुले तत्काल भिडिओहरु सार्वजनिक गरे, जसमा हमासका लडाकुहरु प्याराग्लाइड गरेर इजरायल प्रवेश गरेको, मृत इजरायली सैनिक र डराएका सर्वसाधारण देखाइएको थियो।

देइफको अर्थ हुन्छ, ‘पाहुना’। इजरायलको जासुसी संयन्त्रको आँखा छल्न उनी हरेक रात अलगअलग सहयोगीको घरमा बस्ने हुनाले उनको यस्तो उपनाम रहन गएको हो। यो आक्रमण देइफका लागि अहिलेसम्मकै दुस्साहसयुक्त र घातक थियो।

इजरायलले दशकौँदेखि उनको पिछा गरिरहेको छ। २० वर्षअघि उनी लगभग मारिएका थिए। त्यसबेला उनको एउटा हात, एउटा खुट्टा र एउटा आँखा समेत गुमेको बताइन्छ।

ह्विलचेयरमा बसेर पनि इजरायलको सेनालाई छक्याउन सक्ने उनको खुबी र सैनिक तथा गैरसैनिकलाई समान रुपमा मार्ने तरिकाका कारण प्यालेस्टाइनी लडाकुहरुमाझ उनी पूज्य छन्।

इजरायली सेना यो आक्रमणको सुइँको पाउन असफल भएका कारण देइफ आफूलाई प्यालेस्टाइनी नेतृत्वको सबैभन्दा उच्च ओहोदामा उभ्याउन सफल भएका छन्।

अलि नरम गुट मानिने र पश्चिमले सहानुभूति दर्शाउने फतहका प्रतिस्पर्धी र हमासकै समकक्षीहरुलाई पनि उनले पछि पारेका छन्। हमासलाई अमेरिका, ईयू र इजरायलले आतंकवादी समूह मान्छ।

‘यसअघि पनि देइफ हमास र प्यालेस्टाइनीहरुमाझ अति सम्मानित पात्र थिए,’ अल अजहर युनिभर्सिटी गाजाका मखैमर अबुसादा भन्छन्, ‘उनको अहिलेसम्मकै ठूलो कारबाहीपछि त युवाहरुमाझ उनले आफूलाई भगवानजस्तो बनाएका छन्।’

हमासका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको त्यत्रो संख्यामा इजरायलीहरुलाई बन्धक बनाएर गाजामा ल्याउनु हो। हमासले २०११ मा कब्जा गरेका एक सैनिक गिलाड सालितलाई छुटाउन इजरायलले पाँच वर्षपछि एक हजार प्यालेस्टाइनी कैदीलाई छाड्नुपरेको थियो।

‘हमासले राम्ररी बुझेको छ, इजरायली कैदीलाई राख्ने मामिलामा धैर्य अत्यावश्यक छ,’ सालितको रिहाइमा सहयोग गरेका सो क्षेत्रका एक कूटनीतिज्ञ भन्छन्, ‘समय बित्दै जाँदा इजरायली जनताले दबाब दिनेछन्। हमासले पर्खिए पुग्छ।’

प्यालेस्टाइनी लडाकु बनेर भूमिगत हुनुअघि देइफलाई चिनेकाहरुले उनलाई शान्त, प्रखर व्यक्तिका रुपमा चर्चा गर्छन्।

प्यालेस्टाइनका विभिन्न गुटबीचको प्रतिद्वन्द्वितामा उनको कुनै रुचि थिएन। बरु उनको ध्येय एउटै थियो– इजरायल–अरब द्वन्द्वको प्रकृति नै परिवर्तन गर्ने र त्यसको माध्यमका रुपमा हिंसाको प्रयोग गर्ने।

‘तपाईं इजरायलीसँग इजरायलभित्रै लड्नुपर्छ र अर्काको भूमि कब्जा गरेर सुरक्षित हुन सकिन्छ भन्ने तिनको सपनालाई ध्वस्त पार्नुपर्छ,’ लडाकुपछि मध्यम तहको नेता बनेका र सन् २००० को दशकको सुरुमा देइफलाई भेटेका एक प्यालेस्टाइनीले भने।

इजरायली सेनाको प्राविधिक उपलब्धिसँगै देइफको क्षमता पनि निरन्तर विकास हुँदै गएको उनीहरु बताउँछन्। जुन क्षमता हमास र इजरायलबीच २०२१ मा भएको ११ दिने भयानक युद्धमा प्रदर्शित भएको थियो।

हमासले इजरायलको हवाई प्रतिरक्षा प्रणालीमाथि हावी हुने प्रयासमा सस्ता रकेटहरु ठूलो संख्यामा प्रहार गर्‍यो। जसका कारण युद्धविराम हुनुअघि इजरायलको प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्रहरु झण्डै सकिएका थिए।

हमासका अरु नेताझैँ देइफ पनि १९९० को दशकमा भएको ओस्लो सम्झौतालाई धोका भन्छन्। उनको नजरमा त्यसको उदेश्य प्यालेस्टाइनी राज्यलाई इजरायलले विस्थापित गर्नु थियो।

‘देइफले दोस्रो इजरायल स्वतन्त्रताको युद्ध सुरु गर्ने कोसिस गरेको थियो,’ इजरायली सेनाको जगेडा फौजका कर्णेल एयाल रोजेन भन्छन्, ‘मुख्य उदेश्य इजरायल ध्वस्त पार्नु हो। यो त सुरुवात मात्र हो।’

देइफ कुनै समय बम बनाउने काम गर्थे। गाजामा जमिनमुनि सुरुङहरुको सञ्जाल खन्ने एक दशक लामो कार्यक्रमका रचयिता पनि उनै हुन्। उनको जन्म १९६० को दशकमा खान युनिस शरणार्थी शिविरमा मोहम्मद दियाब इब्राहिम अल मसिरीका रुपमा भएको थियो।

त्यतिबेला गाजा इजिप्टको नियन्त्रणमा थियो। र, सिन बेट गुप्तचर सेवामा उनको फाइल पढेका इजरायली अधिकारीहरुका अनुसार देइफका बुबा वा काका १९५० मा दक्षिणी इजरायलमा बेलाबखत हुने हमलाहरुमा भाग लिने गर्थे, जहाँ देइफका लडाकुले शनिबार आक्रमण गरे।

उनको बारेमा यति कम जानकारी छ कि उनको नाम समेत रहस्यमा छ। १९८० को दशकमा उनलाई चिन्नेहरुले समेत केहीले त्यतिबेला पनि उनलाई देइफ नामले चिनेको बताउँछन्। अरु भने उनलाई जन्मको नामले चिन्ने गर्थे। उनको एउटा मात्र फोटो सार्वजनिक अस्तित्वमा छ, त्यो पनि धमिलो।

इस्लामिक युनिभर्सिटी अफ गाजामा हुँदा उनी एक कलाकार समूहमा थिए, जहाँ उनको अभिनय क्षमता निखारियो। इजरायली कब्जाको विरुद्ध जन्मिएको पहिलो विद्रोहबाट १९८० को दशकमा हमास जन्मिँदा उनी २० कटिसकेका थिए।

त्यही बेलातिर हमासका वर्तमान पोलिट्ब्युरो सदस्य गाजी हमादले जेलको एउटै कोठामा देइफसँग समय बिताएका थिए।‘सुरुदेखि नै उनले सैन्य क्षेत्रमा ध्यान केन्द्रित गरेका थिए,’ उनले सम्झिए, ‘उनी निकै दयालु थिए।’

तर, उनमा कुनै दयाको चिह्न थियो भने पनि त्यो चाँडै गायब भयो। हमासले आत्मघाती बम आक्रमण सुरु गर्‍यो। इजरायलले १९९६ मा ५० भन्दा धेरैको ज्यान जानेगरी भएको आक्रमणसहित दर्जनौँ आत्मघाती बम विस्फोटका लागि देइफलाई जिम्मेवार ठहर्यायो।

देइफले ‘इन्जिनियर’ भनेर चिनिने याया अय्यासनामक बम निर्मातासँग बम बनाउन सिकेको बताइन्छ। इजरायलले बम राखिएको मोबाइल फोनको प्रयोग गरेर इन्जिनियरको हत्या गरेको थियो।

देइफ हमासको सैन्य शाखा कसम ब्रिगेडमा बढुवा हुँदै गए। हमासले बनाएको पहिलो रकेट बनाउन पनि उनी संलग्न थिए। आज हमाससँग दसौँ हजार रकेट छन्। शनिबार मात्र उनीहरुले ३५ सय रकेट प्रहार गरे।

उनले नयाँ बस्ती बसाउने सेटलर, सैनिक, बसजस्ता धेरै प्रभाव पार्ने ठाउँलाई निसान लगाएको इजरायली अधिकारीहरु बताउँछन्।

सन् २००० को दशकमा चार हत्याप्रयासबाट उनी बच्न सफल भए। २००६ मा उनको घरमा इजरायली सेनाले हवाई आक्रमण गर्दा उनी गम्भीर घाइते भएको एक पूर्व सैन्य गुप्तचर प्रमुखले बताएका थिए।

‘मानिसहरुले सोचेका थिए, उनले नेताका रुपमा, सैन्य योजनाकारको रुपमा फेरि काम गर्न सक्ने छैनन्,’ ती जर्नेलले भनेका थिए, ‘तर, उनी ठिक भए।’

कतिपयले उनलाई ‘नौ जुनी पाएको बिरालो’ पनि भन्ने गर्छन्।इजरायलले उनको पाँचौँ हत्याप्रयास २०१४ मा गरेको थियो।

इजरायलले गाजामा उनको घरमा आक्रमण गरेको थियो। जसमा उनकी पत्नी विदाद र शिशु अवस्थाका छोरा अलीको मृत्यु भएको थियो। देइफ पनि मारिएको इजरायलको आकलन थियो। तर, त्यतिबेला उनी घरमा थिएनन्।

हमासको पुरानो शैलीको गुप्तचरी, गाजाको सुरुङ सञ्जालका कारण पनि उनको हत्या गर्न इजरायल असफल हुने गरेको कतिपयको भनाइ छ।

हमासभित्र बेलाबखत इजरायलसँग गरिने सम्झौताको विरुद्धमा उभिने गर्छन उनी। त्यसले इजरायललाई अझ बढी नाकाबन्दी गर्ने समय र स्रोत जुनाउने मौका मात्र दिने उनको ठम्याइ छ।

यस्ता सम्झौताहरुले केही समय शान्ति भए पनि तिनले चार वटा युद्ध पनि निम्त्याए, २००९, २०११, २०१४ र २०२१ मा।अब भने त्यस्तो अभ्यास नहुने निश्चित भएको एक इजरायली अधिकारीले बताए।

फाइनान्सियल टाइम्स र बीबीसीबाट

नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्