४ जेष्ठ २०८१, शुक्रबार

 

एमाले अध्यक्ष ओलीले मंसिर २१ गते बागलुङ बजारको सभालाई सम्बोधन गर्ने

बागलुङ । नेकपा एमालेको ‘समृद्धिको लागि संकल्प यात्रा २०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली बिहीबार विहान बागलुङ बजार आउने कार्यक्रम छ ।

वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको सो टोलीलाई स्वागत गर्न बजार क्षेत्रमा स्वागतद्धार निर्माण गर्नेदेखि बागलुङ बजारको मुख्य मुख्य चोकहरुमा सूर्य अंकित झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष ओलीका तस्विर अंकित झण्डाले बागलुङ बजार झकिझकाऊ बनाइएको छ ।

पार्टीको सिंगो नेतृत्व जिल्लामा आउने भएपछि एमालेका नेता कार्यकर्ता निकै उत्साहित भएका छन् ।प्रचार प्रसारमा पार्टीका नेता र कार्यकर्ताहरु तयारीमा जुटेको नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले बताए । बजारका ठाउँ ठाउँमा स्वागतद्धार निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका प्रवेश गर्ने स्थान खहरेमा स्वागत गेट निर्माण गर्न लागिएको छ भने बजार प्रवेशद्धार जिपपार्कमा स्वागत गेट तयार भइसकेको छ । बजारका विभिन्न स्थानमा स्वागत ब्यानर टागिएको छ । पर्वतको मालढुंगासम्म पार्टीका झण्डाहरु राखिएका छन ।

मंसिर २१ गते बिहीबार विहान १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा अध्यक्ष केपी ओलीसँग संवाद गर्ने कार्यक्रम तय भएको नगर कमिटीका अध्यक्ष धन वहादुर परियारले बताए । त्यसैको तयारी स्वरुप पार्टी पंक्ति जुटीरहेको परियारले बताए ।

उनका अनुसार पदयात्री टोलीलाई बुधवार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । सो स्थान मध्य पहाडी लोकमार्गको सबैभन्दा उचाईमा रहेको क्षेत्र पनि हो ।पातीहाल्नेमा स्वागत गरेपछि टोलीलाई निसीखोला गाउँपालिकाको झिवाखोलामा स्वागत गर्ने कार्यक्रम छ ।

त्यसपछि पदयात्रा टोलीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा कार्यक्रम हुनेछ । पार्टी अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सहभागी टोलीलाई बढिगाड पालिकामा स्वागत गरिनेछ ।त्यसपछि टोली गुल्मीको वामी टक्सारमा हुने सभामा भाग लिनेछ र बेलुका बागलुङको गलकोटमा वास बस्ने र स्थानीयसँग रेमिट्यान्स लगायतका विषयमा संवाद गर्ने कार्यक्रम छ ।

मंसिर २१ गते विहान काँठेखोलाले घोढाबाँधेमा स्वागत गर्ने र १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा हुने सभामा सहभागी भएर दिउसो पर्वतको कुश्मा बजारमा हुने आमसभामा सहभागी हुने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गणेश पौडेलले बताए ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको सबैभन्दा बढि भाग १४२ किमि सडक बागलुङ जिल्लामा मात्रै पर्ने भएकाले पनि देशको पूर्वप्रधानमन्त्री आउँदा यहाँका स्थानीयमा ब्यापक खुशी छाएको छ ।

उनीहरुले यो सडकलाई विस्तारसँगै स्तरउन्नती हुनेमा विश्वास लिएका छन् । यो मध्य पहाडी सडकलाई सुन्दर भविष्यको रेखाको रुपमा स्थानीयले लिएका छन् ।यस क्षेत्रको आर्थिक विकासमा यो सडकको महत्पूर्ण भूमिका रहेको छ ।

ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्