४ जेष्ठ २०८१, शुक्रबार

 

अध्यक्ष ओलीलाई बागलुङको पातिहाल्नेमा स्वागत

बागलुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहितको केन्द्रीय नेताहरुको समूहलाई निसीखोलाको पातिहाल्नेमा स्वागत गरिएको छ ।

बुधबार नेकपा एमालेले सञ्चालन गरेको ‘सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तर्गत नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली सहितको टोलीलाई स्वागत गरिएको नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको समृद्धिका लागि संकल्प यात्राको टोली गण्डकी प्रदेशमा प्रवेश गरेको हो ।

समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा र बागलुङ जिल्लाका नेता कार्यकर्ताले बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।

पातीहाल्नेमा स्वागत गरेपछि टोलीलाई निसीखोला गाउँपालिकाको झिवाखोलामा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पदयात्रा टोलीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा कार्यक्रम हुनेछ ।

पार्टी अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सहभागी टोलीलाई बढिगाड पालिकामा स्वागत गरिनेछ ।त्यसपछि टोली गुल्मीको वामी टक्सारमा हुने सभामा भाग लिनेछ र बेलुका बागलुङको गलकोटमा वास बस्ने र स्थानीयसँग रेमिट्यान्स लगायतका विषयमा संवाद गर्ने कार्यक्रम छ ।

मंसिर २१ गते विहान काँठेखोलाले घोढाबाँधेमा स्वागत गर्ने र १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा हुने सभामा सहभागी भएर दिउसो पर्वतको कुश्मा बजारमा हुने आमसभामा सहभागी हुने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस्