४ जेष्ठ २०८१, शुक्रबार

 

यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ : अध्यक्ष ओली

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास निर्माणका कुनैपनि काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका अध्यक्ष ओलीले शुक्रबार बागलुङ बजारको जनसभालाई सम्वोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

कर्मचारीको तलवभत्ताका लागि समेत ऋण उठाउनुपर्ने अवस्थामा देशलाई पु¥याएर सरकार सञ्चालकहरु लाज पचाएर कुर्सिमा बसेको ओलीको आरोप थियो । नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ ।

‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा गरेका कामको स्मरण गरे । कोराला नाका सञ्चालन, मुस्ताङमै युरिनियमको खानी अध्ययनका लागि विशेषज्ञ झिकाएर सेनाको जिम्मा लगाउने, पोखरा विमानस्थल निर्माण लगायतका कामको स्मरण गर्दै ओलीले एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकको योजना कटौती गरेर वर्तमान सरकारले जनतालाई धोका दिएको बताए ।

‘पोखरा विमानस्थल बन्यो तर कम्र्फटेवलवाला सरकारले कोही रिसाउला भनेर जहाज आउन दिँदैन्’ ओलीले भने । गठबन्धन सरकारलाई हुतियाराको संज्ञा दिदैँ एमाले अध्यक्ष ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिवी, अराजकता, जनतामा अन्योलता, निराशाको अन्त्य गर्न नेकपा एमालेकै सरकार आउनु पर्ने बताए ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको बताउँदै ओलीले जनतामा एमालेले देश बर्बाद हुन दिदैँन भन्ने विश्वास रहेको बताए ।

ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।

फरक प्रसंगमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो । उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए । ‘ऋणी भएनन्, बचतकर्ता भएनन् भने तिम्रा बैंक बन्द हुन्छन्,’ उनले भने, ‘चर्को ब्याज लगाएर जनतालाई मार्ने काम नगर ।’

मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए । उक्त योजनाअनुसार मिसन–०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबीसमेत गरे । बिहीबार बागलुङको गलकोट, घोडाबाँधेमा एमालेले जनभेटघाट र सभासमेत गरेको थियो ।

उनले जनताको अपेक्षा अनुसार सुखी नेपाली सम्वृद्ध नेपाल बनाउँने संकल्प पुरा गर्न पार्टीको तल्लो तहदेखिनै काम गर्न आव्हन गरे । एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र लाल सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी बागलृुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र जिल्ला सचिव विष्णु भुषालको संचालनमा सम्पन्न भएको थियो ।

इमेज पीडित संघर्ष समितिका अध्यक्ष दिल बहादुर कार्कीले सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गर्न र बचतकर्ताको रकम फिर्ता गर्न सहजिकरण गर्नको लागि अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्