२० बैशाख २०८१, बिहीबार

 

राष्ट्रपति रनिङ सिल्ड बागलुङ नगरपालिकालाई, बडिगाड गाउँपालिका दोश्रो

बागलुङ । बाह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले जितेको छ ।

कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि भएको खेलमा बागलुङले २७ स्वर्ण, १९ रजत र १६ कास्य पदकसहित प्रथम स्थान पाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

बागलुङ नगरपालिकाले सबैभन्दा धेरै एथलेटिक्समा १४, उसुमा ७, कराँते र तेक्वान्दोमा ३र३ स्वर्ण पदक जितेको थियो । यसअघि पनि नवौं, दसौं र एघारौं राष्ट्रपति कपसमेत बागलुङ नगरपालिकाले हात पारेको थियो । १२ स्वर्ण, १४ रजत र १३ कास्य पदक जितेर बडिगाड गाउँपालिका दोश्रो भएको छ ।

बडिगाडले तेक्वान्दोमा ४, करातेमा ३, कबड्डीमा २, उसुमा २ र भलिबलमा १ स्वर्ण पाएको हो ।फागुन दोस्रो साता नवलपुरमा हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरूले खेल्नेछन् ।

बाह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दस पालिकाका ४ सय खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्