१६ बैशाख २०८१, आईतवार

 

चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता : सेमिफाइनल समिकरण पुरा

बागलुङ । तेस्रो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको खेलमा विद्यामन्दिर माध्यमिक विद्यालय, चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो), न्यू ओयसिस एकेडेमी र फ्युचर ब्राइटर माध्यमिक विद्यालय विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विद्यामन्दिरले अमर आदर्श आवासिय माध्यमिक विद्यालयलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो ।

यस्तै शुक्रबारको दोस्रो खेलमा बरदान थापाको ह्याट्रिक गोलको मद्दतमा चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले गणेश माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

थापाले खेलको १३ औं, १९ औं र २० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरेका गरेका थिए । दोस्रो हाफमा दुवै टिमबाट गोलको लागि सुनौलो मौका प्राप्त गरेपनि गोल हुन सकेन् ।

यस्तै तेस्रो खेलमा न्यू ओयसिस एकेडेमीले चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (सेतो)लाई ट्राईबेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्यो ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । न्यू ओयसिसको लागि खेलको ५ औं मिनेटमा सन्देश थापाले र चिल्ड्रेन लाईफको लागि खेलको १७ औं मिनेटमा प्रज्वल सुवेदीले गोल गरेका थिए ।

यस्तै शुक्रबारको चौथो खेलमा मुलपानी माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै फ्युचर ब्राइटर माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ८ औं मिनेटमा विश्व नेपालीले गरेको गोल नै फ्युचरको जितमा निर्णयक बन्यो । निर्धारित समयमा दुवैटिमबाट थप कुनै गोल हुन नसकेपछि फ्युचर सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको तेस्रो दिन शनिबार सेमिफाइनलका खेल हुने प्रतियोगिता संयोजक क्षेत्रीले बताए ।

शनिबार पहिलो सेमिफाइनल खेल न्यू ओयसिस एकेडेमी र विद्यामन्दिर माध्यमिक विद्यालयकाविच हुनेछभने दोस्रो सेमिफाइनल खेल चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)   र फ्युचर ब्राइटर माध्यमिक विद्यालयका विच हुने प्रतियोगिता संयोजक क्षेत्रीले जानकारी दिए ।

चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्