२१ बैशाख २०८१, शुक्रबार

 

ट्रेड युनियन कांग्रेसको स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । नेपाल ट्रेड युनियन कांग्रेसले ७८औँ स्थापना दिवस मनाएको छ । विराटनगर जुटमिल आन्दोलनको जगमा स्थापित नेपालको सबैभन्दा पुरानो श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले ७८ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो ।

दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको आयोजनामा सोमबार मानव सेवा आश्रममा खाद्यान्न वितरण गरिएको छ ।

श्रमको सम्मान गरौ, श्रम शक्ति राष्ट्रको शक्ति हो भन्ने मूल नारासाथ स्थापना भएको ट्रेड युनियनले मानव सेवा आश्रम बागलुङमा रहेका ५४ जना व्यक्तिको लागि खाद्यान्न वितरण गरेको छ ।

नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

आश्रममा खाद्यान्न वितरण गर्दै नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक शकुन्तला शर्माले श्रमजिवीको समस्या समाधान गरि श्रमजीवी वर्गको जीवनस्तरमाथि उठाउनु अहिलको आवश्यकता रहेको बताइन ।

उनले नेपाली श्रमजिवीको हकअधिकार संरक्षण, सामाजिक सुरक्षा, मर्यादित रोजगारी लगाएका विषयमा नेपाल ट्रेड युनियनले काम गर्दै आएको बताईन ।

नेपाल ट्रेड युनियन बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्र रेग्मीको स्वागत र सचिव वीर बहादुर किसानको संचालनमा कार्यक्रम भएको थियो ।

श्रम तथा ट्रेड युनियन ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले प्रारम्भ गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले दबाब दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्