१५ बैशाख २०८१, शनिबार

 

इमेज सहकारीपीडितले देवकुमार नेपालीको दरबार होटल संचालन गर्ने

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बन्द अवस्थामा रहेको बागलुङको बुर्तिबाङ बजारमा रहेको दरबार होटल संचालन गर्ने भएका छन् । १० महिनादेखि फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा नआएपछि पीडित बचतकर्ताहरुले दरबार होटल र रेष्टुरेन्ट संचालन गर्ने तयारी गरेका हुन् ।

इमेज बचत तथा ऋण सहकारीका संस्थाका गलकोट र बुर्तिबाङका बचतकर्ताहरुले गठन गरेको संघर्ष समितिले वैशाख १ गतेबाट होटल संचालन गर्ने तयारी गरेका छन् । बचतकर्ताको झन्डै दुई अर्ब रकम हिनामिना गरेका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बेपत्ता भएपछि बचतकर्ताले नेपालीको स्वामित्वमा रहेको दरबार होटल कब्जा गरी संचालन गर्न लागेका हुन् ।

संघर्ष समितिको निर्णय अनुसार आफूहरुले होटल खोलेर त्यहाँ रहेका समानको विभिन्न राजनीतिक दलहरुको रोहभरमा तथ्याङक संकलन गरि होटल परिसर सरसफाइ गरिएको संघर्ष समिति गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसेले बताउनुभयो । फरार नेपाली सम्पर्कमा आउने सम्भावना नदेखिएको र सरकारले पनि पक्राउ गर्न चासो नदेखाएकोले आफूहरु नेपालीको स्वामित्वमा रहेको होटल संचालन गर्न बाध्य भएको उहाँले बताउनुभयो भयो ।

गलकोट र बुर्तिबाङमा गरि बचतकर्ताको करि रू। २५ करोड रकम नेपालीले हिनामिना गरेकोले दरबार होटल र त्यस क्षेत्रमा रहेका भौतिक संरचना ‘आफूहरुको सम्पत्ती स्वरुप आफै संरक्षण गरौँ’ भन्ने उद्देश्यले संघर्ष समितिले होटल संचालन गर्ने तयारी गरेको हो । बागलुङ बजार र पोखरामा रहेका नेपालीका भौतिक संरचना संचालनमा रहेकोले बुर्तिबाङमा रहेको नेपालीको नीजि निवास बाहेकका संरचना प्रयोगमा ल्याउने तयारी संघर्ष समितिले गरेको छ ।

दरबार होटलको मूलढोका खोलेपछि रिसेप्शन कक्षमा सबै कोठाहरुको चाबी फेला परेकोले संचालन गर्न लागिएको चालिसेले बताउनु भयो । सर्वदलीय सर्वपक्षीय भेलामा सबै पक्षबाट समर्थन पाएकोले संचानल गर्न थालेको चालिसेले बताउनुभयो । संचालन गर्नुपूर्व विद्युत्को रू ३ खाल ५७ हजार बिल रहेको र बिग्रेको संरचना मर्मत र सरसफाइ गर्न करिब रू २ लाख खर्च हुने अनुमान गरिएको छ ।

होटल संचालन गर्न शर्मा चालिसेको संयोजकत्वमा ९ सदस्यीय संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा संघर्ष समिति बुर्तिबाघका संयोजक याम बहादुर कुँवर, सचिव गोमा थापा र सहसचिव पदम गौतम रहनुभएको छ ।

समितिको बैठकले सहसंयोजक कुँवरलाई म्यानेजर र पीडित मध्यका तिलाचन विकलाई सुरक्षा गार्डको जिम्वेवारी तोकिएको पनि चालिसेले बताउनु भयो ।सहकारीका बचतकर्ताले सञ्चालक नेपाली पक्राउको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

गत ७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि सहकारीका अध्यक्ष नेपाली सपरिवार फरार रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्