२७ बैशाख २०८१, बिहीबार

 

चैते दशैं मेलाको तयारी अन्तिम चरणमा, पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

बागलुङ । कालिका भगवती गुठीले चैते दशैंको अवसरमा चैत्र ३० गतेदेखि गर्ने मेला तयारी अन्तिम चरणमा पुग्न लागेको छ ।

समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैं मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्न लागेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बुधबार भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको हो ।

लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी व्यवस्थापन समिति खड्काले जानकारी दिनु भयो ।

‘गन्तव्य बागलुङ कालिका कला र संस्कृतिको प्रवर्द्धन स्थानीय उत्पादन व्यापार र पर्यटन प्रवर्द्धन‘ भन्ने मूल नारासाथ मनाउनु लागेको हो । मेलाको मुख्य प्रायोजक प्रभु बैंक र सहप्रायोजकमा ग्लोबल आइएमई बैंक र टुर्वग वियर रहेको छ ।

मेलाको आकर्षणमा तीन लाख राशिको कालिका कप खुला भलिबल प्रतियोगिता , २० हजार राशिको विद्यालय स्तरीय नृत्य प्रतियोगिता, दुई लाख राशिको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, एघार हजार राशिको छेलो प्रतियोगिता ,रथ यात्रा र रमाइलो मेला रहेको छ ।

श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिरको व्यवस्थापनमा कालिका मन्दिरको गेटदेखि श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिर कुँडुलेसम्म दौड प्रतियोगिता पनि आयोजना गरिएको छ । दौड प्रतियोगितामा प्रथम हुनेलाई दश हजार र द्धितीय हुनेलाई पाँच हजार पुरस्कारको व्यवस्था रहेको छ ।

बागलुङ सदरमुकाममा सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो ।

मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङको कालिका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ ।

उनीहरुले आफूले भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । मेलामा ५५ लाख खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार तारानाथ आचार्यले गर्नु भएको थियो ।

तस्बिर:दिनेश जिसी

 

प्रतिक्रिया दिनुहोस्