१९ बैशाख २०८१, बुधबार

 

ताराखोलाका आगलागी पीडित राहतको पर्खाइमा

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको जंगलमा लागेको डढेलो वस्तीमा पस्दा ३ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको आज सात दिन पुग्यो । आगलागी भएपछि पीडितहरु विस्थापित भएर ताराखोला गाउँपालिका-२, सिलेको नुनथला मगर समाजको भवनमा आश्रय लिएर बसेका छन् ।

उनीहरुको धनसम्पत्ति नोक्सानी भयो । पीडितहरुले जीवनभर दुख गरेर बनाएको घर र गोठ जलेर खरानी भयो । उनीहरु घरबारविहीन भएर बसे पनि उनीहरु कहाँ सहयोगको हातहरु पुग्न सकेका छैनन्। पीडितले ६ दिनपछि बल्ल पहिलो चरणको राहत पाएको छ ।

ताराखोला गाउँपालिकाले शनिबार पीडितलाई राहत स्वरुप खाद्यान्न वितरण गरको ताराखोला गाउँपालिका-२ का वडा अध्यक्ष भद्रबहादुर घर्तिले बताउनु भयो।

गत चैत्र २६ गते ताराखोला गाउँपालिकाको-२ नम्बर वडामा गुराँसे र सिर्वारेको वस्तीमा आगो सल्कदा ३ घर जलेका थिए । आगलागीबाट घर, घरभित्र राखिएको अन्नपात लत्ताकपडा र चल अचल सम्पत्ती सबै गुमाएर बेघर बनेका अग्नीपीडितहरु यत्तिखेर सामुदायिक भवनको आश्रयमा बिहान बेलुकाको गर्जो टार्दै आएका छन।

आगलागीबाट स्थानीय इश्वरा दर्जीको घरगोठ, पशु चौपामा जलेका थिए भने अमृतलाला दर्जीको भैसी, रागा, पाडी र बाख्रा पनि जलेका थिए । त्यस्तै फुलकुमारी दर्जीको घरमा रहेका अन्नतपात सहित घर जलेको थियो ।

आगलागीबाट याम बहादुर परियार लगाएत अन्य पाँच जनाको गोठमा क्षती भएको वडा नम्वर-२ का वडा अध्यक्ष भद्र वहादुर घर्तीले नयाँ विश्वलाई बताउनु भयो ।

आगलागीबाट घर क्षतिकाको विवरण सहितको मुचुल्का संकलनमा प्रहरीले ढिलाई गर्दा जिल्लाबाट जाने राहत उपलव्ध हुन सकेको छैन ।

आगलागी भएको १ साता वितिसक्दा पनि भातखाने डाँडा प्रहरी चौकी र रेडक्रस उपशाखाले जिल्लामा घटनाको जानकारी नगराउदा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा र जिल्ला दैवी प्रकोप उद्दार समितिबाट राहत पुग्न ढिलाई भएको हो।

प्रहरीले समयमै मुचुल्का उठाउन ढिलो गर्दा पनि सरोकारवाला निकाय मौन बस्नु गम्भीर विषय भएको छ । आज बल्ल मुचुल्का तयार भएको र वडा अध्यक्ष मार्फत पठाउन लागेको भात खाने डाँडा प्रहरी चौकीका असई चिरिञ्जिवि अधिकारीले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा अर्गल वडा नं-२ का सभापति दिलबहादुर घर्तीले घटनाको बारेमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखालाई अझै जानकारी गराएका छैनन् । गाउँपालिकाबाट जानकारी आई नसकेकोले जिल्लाबाट वितरण हुने राहत पठाउन ढिला भएको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनु भयो ।

तत्काल राहत पठाउन आवश्यक निर्देशन दिने प्रमुख जिल्ला अधिकारी रिजालले नयाँ विश्वलाई बताउनु भयो । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध नगराउदा उनीहरुको दैनिकी थप कष्टकर बनेको छ ।

भौगोलिक रुपमा विकट र पिछडिएको गाउँमा बसोबास गर्ने आर्थिक रुपमा विपन्न समुदायका आगलागी पीडितहरु यतिखेर राहतको प्रतिक्षामा छन। आगलागीबाट भग्नावशेष भएको आफ्नो घर दिनभर टोलाएर बस्नु र गाउँमा राहत आउला कि भनेर पर्खर बस्नु सिवाय पीडितसँग कुनै विकल्प छैन् ।

प्रतिक्रिया दिनुहोस्