२१ बैशाख २०८१, शुक्रबार

 

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बागलुङद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला समिति बागलुङले आईतबार बागलुङ बजारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गर्नुको साथै मशाल जुलुृस प्रदर्शन गरेको छ ।

राप्रपाले गत चैत्र २७ गते काठमाडौंमा गरेको आन्दोलनमा प्रहरीले दमन गरेको र प्रहरीको लाठीचार्जबाट घाइते भई उपचार गरिरहेका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको विरोध स्वरुप गृहमन्त्रीको राजीनामा मागसहित पुत्ला दहन गरेको हो

। राप्रपा बागलुङका जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले प्रहरी दमनको विरोध गर्नुका साथै डाँगीको हत्याले आन्दोलनलाई थप उर्जा प्रदान गर्ने र उनलाई शहीद घोषणा गर्नु पर्ने बताउनु भयो । तानाशाही सरकारले दमन र हत्याले आन्दोलनलाई तुहाउन नसक्ने खड्काको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला समिति बागलुङ उपाध्यक्ष अनिश प्रधान अध्यक्ष गोविन्द पुन र केन्द्रीय सदस्य सुृदिप गौतमको उपस्थिति रहेको थियो ।

प्रहरी दमनको विरोधमा राप्रपाले थप सशक्त कार्यक्रम ल्याउने राप्रपा गण्डकी प्रदेश सदस्य सुरजबहादुर खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो । कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातान्त्रिक पार्टी बागलुङका सचिव विष्णु सापकोटाले गर्नु भएको थियो ।

राजसंस्था र हिन्दूराज्य पुनस्थापनासहित ४० बुँदे मागसहित आन्दोलनमा रहेको राप्रपाले मृत्यु भएका डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्