४ जेष्ठ २०८१, शुक्रबार

 

लखेटिएका लखेटियै प्रमुख प्रशासकीय अधिकृत, हाकिम टिक्न नदिएपछि एमालेद्वारा निसीखोला गाउँपालिकामा तालाबन्दी

बागलुङ । बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतले नियुक्ति लिएर कार्यालयमा हाजिर भएको एकसाता नबित्दै सरुवा भएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटि बागलुङले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृतको रुपमा नियुक्ति लिएर गत बैशाख १२ गते गाउँ पालिकामा हाजिर भएका जिवन पुन मगर एकसाता नबित्दै सरुवा भएपछि एमाले निसीले आन्दोलन स्वरुप तालाबन्दी गरेको हो ।

यसअघि दुई जना प्रमुख प्रशासकिय अधिकृतलाई पालिका प्रमुख सूर्यबहादुर घर्तिले हाजिरै गर्न नदिई फिर्ता पठाएका थिए ।

वैशाख १२ गते निसीखोला गाउँपालिकामा हाजिर भएका पुनको वैशाख १८ गते भूमि व्यवस्था सहकारी तथा गरिवी मन्त्रालयमा सरुवा भएको छ । यसअघि निसीखोलाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका ध्रुव रिजाल र चुर्णबहादुर कार्कीलाई हाजिर नै नगराई फर्काइएपछि गाउँपालिका निमित्तको भरमा चलिरहेको छ ।

‘पटक पटक प्रमुख प्रशासकिय अधिकृतको सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद नाघेको छ’ एमाले निसीखोलाका अध्यक्ष भुमिराज घर्तीले जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

निमित्तको भरमा पालिका चलाउने सिमित जनप्रतिनिधि र केही कर्मचारीको मिलेमतोमा गरिएको क्रियाकलापको भण्डाफोर गर्न तालाबन्दीसँगै धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तिले बताए ।

प्रमुख प्रशासकिय अधिकृतलाई फिर्ता पठाउने कार्य तत्काल सच्याउँदै स्थानीय सरकार मर्यादित रुपमा सञ्चालन गर्न गरिएको आग्रह वेवास्ता गरे आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने एमाले निसीखोलाले चेतावनी समेत दिएको छ । माग पुरा नभएसम्म तालाबन्दी जारी रहने घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्