६ जेष्ठ २०८१, आईतवार

 

आफ्ना नागरिकलाई उद्यमी बनाउँदै जैमिनी

जैमिनी नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउन उद्यमशिल तालिम सञ्चालन गरिरहेको छ । स्थानीयतहमा रहेका कच्चा पदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानी सँग जोड्न विभिन्न सिपमुलक तालिम सञ्चालन गर्दै आईरहेको छ ।

सोही क्रममा जैमिनी नगरपालिका वडा न ३ दमेकले बैशाख १८ गते देखी सुरु गरेको ७ दिने तालिममा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फराई चिउरा बनाउने तालिम सम्पन्न गरेको छ ।

तालिममा जैमिनी नगरपालिका वडा न ३ दमेकका २८जना सकृय महिलाहरुको सहभागिता रहेको थियो । ‘उद्योग गरौँ उद्यमशिल संस्कारको विकास गरौँ’ भन्ने नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत तालिमको शुरुआत गरिएको हो ।

तालिम समापनका अवसरमा बोल्दै जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनले उद्यमसिलताको विकासकालागि जैमिनी नगरपालिकाले लगानी गर्ने बताए । कृषिजन्य बस्तुको उत्पादन, बजारिकरण र प्रवद्र्धन गर्नका लागि कृषक सँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।

स्थानीय श्रोत र साधनको परिचालन गरी रोजगारी सृजना गर्ने तथा कृषकहरुलाई आत्मनिर्भर गराई आम्दानीको श्रोत बढाउनका लागि सबै सरोकारवालासँग सहकार्य गर्ने वडा नम्वर ३ का अध्यक्ष कृष्ण भुजेलले बताए ।

तलिमका सहभागिले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । प्रशिक्षक शारदा नापित, जनप्रतिनिधि हिरा गुरुङ, रुद्रताल सामाजिक उद्यमी महिला शहकारीका अध्यक्ष चित्रकलि छन्त्याल, वडा सचिव सिमाना छन्त्याल पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वडा नम्वर ३ का अध्यक्ष कृष्ण भुजेलको अध्यक्षता, तालिमका सहभागी लालमाया बिक को स्वागत मन्तव्य र रुद्रताल सामाजिकउद्यमी महिला शहकारीका शेयर सदस्य इन्दिरा पुनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्