३ श्रावण २०८३, आईतवार

 

फष्टाउदै बागलुङको पर्यटन व्यवसाय

बागलुङ । घुम्ने याम शुरुभएसंगै बागलुङको पर्यटन व्यवसाय चलायमान भएको छ । चाडबाडको समयमा मस्ताङ जानेको लर्को छ ।

बागलुङ कालिका मन्दिर, पञ्चकोटमा भीड नै लागेको पाइन्छ । बागलुङमा पश्चिम नेपालका पर्यटकहरु समेत यस वर्षदेखि भित्रन थालेपछि पर्यटन व्यवसायमा थप उत्साह छाएको छ ।

दशैं यता बागलुङका सुविधा सम्पन्न होटालहरुमा पर्यटकहरुको राम्रो आगमन भएको छ । अहिले होटलमा कोठा पाउनै मुश्किल परेको छ ।

बागलुङ देखि बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको संख्या अहिलेसम्मकै उच्च भएपछि त्यसको सकरात्मक प्रभाव बागलुङमा समेत पर्न गएको छ ।

दशैं सकिए लगत्तै पर्यटकको संख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्ययवसायीहरु बताउछन् ।

विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको संख्यामा वृद्धि भएपछि होटल व्यवसाय फष्टाएको हो ।

अहिले केही पर्यटकहरु ढोरपाटन जाने समेत बागलुङ भित्रिन थालेका छन् ।

दशैं पछि मुस्ताङ जाने याम भएकाले मुस्ताङ हिडेका केही पर्यटकहरु समेत बागलुङमा थप समय बिताउन थालेका हुन् ।

विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेको पाइएको छ ।

पछिल्लो समय मध्यपहाडी राजमार्गले पश्चिम क्षेत्रका पर्यटकहरु समेत बागलुङ आउन थालेका हुन् ।

दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्ज लगायतका क्षेत्रबाट मुस्ताङ आउने पर्यटकहरु बागलुङ बस्न आउने गरेको पाइएको बागलुङका होटल व्यवसायी तथा होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष तथा होटल समिट धौलागिरीका सञ्चालक अर्जुन चोखालले बताउनुभयो ।

पोखरा, काठमाण्डौ, चितवनबाट आउने पर्यटकहरु संगै मध्यपहाडी लोकमार्ग भएर रुकुम, दाङ र नेपालगञ्ज जस्ता जिल्लाबाट ढोरपाटन, कालिका मन्दिर र मुक्तिनाथ जान आउनेहरुको गन्तव्य बागलुङ बन्दा होटल व्यवसायमा सकरात्मक प्रभाव पारेको उहाँको भनाई छ ।

जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम संग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ ।

चोखालले दशैं लगत्तै अहिले सम्म बागलुङका होटलमा पर्यटकको चाप बढेको बताउनुभयो ।

बागलुङमा पर्यटकको चाप बढेपछि पछिल्लो समय होटलमा समेत लगानी थपिएको चोखालले जानकारी दिनुभयो ।

बागलुङ जिल्लामा बढिरहेका पर्यटकीय गन्तव्य, होटलको स्तरीकरण र प्रचार–प्रसारका कारण मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीले बागलुङलाई समेत गन्तव्य बनाउन थालेका हुन् ।

मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका तथा पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको हो ।

टाढाबाट आएको पर्यटकहरु बागलुङका होटलमा बसेर अर्को दिन सिधै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् ।

दशैं सकिएलगत्तै होटलको कोठा पर्यटकले भरिभराउ हुन थालेको बताउदै अहिले कोठा मिलाउनै हम्मे हम्मे परेको होटल दि राजका सञ्चालक एन्जिल शाक्यले जानकारी दिनुभयो ।

उहाँले कात्तिक लागेपछि पर्यटकको आगमन बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung