७ कार्तिक २०८३, शुक्रबार

 

मुख्य राजमार्ग स्तरीय बनाउन सरकार तात्नुपर्छ : माधव कुमार नेपाल

बागलुङ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुरगामी योजनामा राज्यको लगानी नभएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु स्तरीय बनाएर जनतालाई रोजगार बनाउनु पर्नेमा राज्यले भुक्तानी नदिने र कामलाई अड्काउने गरेको टिप्पणी गर्नुभयो ।

नेता नेपालले राज्यलाई ऋण लाग्ने एयरपोर्ट बनाउनुभन्दा मुख्य राजमार्ग स्तरीय बन्दा जनताले सेवा पाउने बताउनुभयो ।

बागलुङ नगरपालिकामा बिहीबार आयोजित स्वागत तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि समेतको अन्तरक्रियामा देशका लागि दिगो विकासका योजना बन्न नसक्नु दुखद भएको बताएका छन् । उनले चल्दै नचल्ने एयरपोर्टमा लगानी गर्ने सरकारले सडक यातायातमा लगानी नगर्दा राजमार्गहरु अप्ठ्यारा भएको बताउनुभयो।

‘राजमार्ग सहज भए जनताले सेवा पाउने हो, एयरपोर्ट बनाएर धनाड्यहरुलाई मात्र फाइदा हो’ नेपालले भने, ‘जनताको जिवतस्तर उकासेपछि एयरपोर्टहरु धेरै बनाउने हो, अहिले सडक र बाटोघाटो नै सुधार्नुपर्छ ।’ ग्रामीण जीवनलाई सहज बनाउन आफ्नो प्रधानमन्त्रीत्व कालमा हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोरहरुको काम थालेको उनले बताउनुभयो।

ग्रामीण क्षेत्रमा बन्दै गरेका संरचना र स्थानीय सरकारले थालेका काममा संघिय सरकारले लगानी नगरेकोले धेरै योजना अलपत्र परेको उनको टिप्पणी थियो । ‘आम जनताको लागि स्तरीय सडक र राजमार्ग बन्नु पर्ने हो, जहाज नआउने विमानस्थलमा लगानी भएको छ’ उनले भने, ‘घाटाको व्यापार गर्न कोही व्यवसायी आउँदैन ।’

देशभित्रै रोजगार सिर्जना हुने काममा लगानी गर्न उनले राज्यको ध्यानाकर्षण गरे ।नेता नेपालले एउटै छानोबाट सबैखाले सरकारी सेवा पाउने पूर्वाधार चाहिएको बताउनुभयो ।

‘जनतालाई अत्यावस्यक पर्ने कार्यालयहरु बनाउन चासो नगर्ने, काम नभएका कार्यालयमा आबास बनाएर सकिएका छन्’ उनले भने, ‘अत्यावस्यक सेवाका कार्यालय एकै ठाउँमा राखेर सेवा दिनुपर्छ ।’

राजधानीका सरकारी जग्गा र भवनको लेखाजोखा गर्ने, जिल्ला सदरमुकामका जग्गालाई पनि एकीकृत गरेर सेवालाई चुस्त बनाउनुपर्ने उनले धारणा राख्नुभयो ।

उनले एक सय वर्षको सोचका साथ स्थानीय तहले योजना बनाउनुपर्ने भन्दै त्यसमा प्रदेश र संघिय सरकार जोडिनुपर्ने माग गर्नुभयो ।

बागलुङ नगरपालिकाको तर्फबाट पूर्वप्रधानमन्त्री नेपाललाई स्वागत गर्नु हुँदै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाले चालेका दिगो विकासका परियोजनाहरु, सामाजिक कल्याणका कार्यक्रमहरु, नगरवासीलाई प्रदान गरिएको विभिन्न सेवाहरु र नगरका विकासका लक्ष्यहरु र आवश्यकताहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung