२९ बैशाख २०८२, सोमबार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीले शेयर वृद्धि अभियान सञ्चालन गर्ने

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारीले शेयर वृद्धि अभियान सञ्चालन गर्ने भएको छ । बुधबार भएको कार्यसमितिको बैठकले प्रत्येक शेयर सदस्यहरुले न्युनतम पचास हजार शेयर थप्ने र नयाँ शेयर सदस्य वृद्धि गरेर शेयर पुँजी दुई करोड पुर्याउने लक्ष्य राखेको छ ।

आज बसेको बैठकले महिला, युवा र बालबालिकाको भेला बोलाएर उपसमितिहरु निर्माण गर्ने, सहकारीको कार्यसमिति, शेयर सदस्य र कर्मचारीहरुको लागि सहकारी शिक्षा र संघ, प्रदेश र पालिकाले ल्याएको ऐन, नियमावली र नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले सहकारी क्षेत्रको सुधारका लागि दिएको सुझावको बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सहकारीको भूमिकालाई अझ प्रभावकारी बनाउने, कर्जाको विमा, कर्मचारीको न्युनतम तलब र कर्मचारीको दुर्घटना बिमा गर्ने विषयमा निर्णय भएको नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका सचिव गगनबहादुर पुन मगरले जानकारी दिनुभयो ।

बैठकमा सहकारीका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सहकारीको वार्षिक योजना र रणनीतिक योजना निर्माण गर्ने, कर्जा लगानी र शेयर पुँजी वृद्धि गर्ने अभियान सञ्चालन गर्ने बारेमा धारणा राख्नु भएको थियो ।

सहकारीका प्रबन्धक विनोद लाल राजभण्डारीले सहकारीको वर्तमान आर्थिक अवस्था र नयाँ आर्थिक नीति निर्माण गरी सफल कार्यान्वयनको लागि चाल्नु पर्ने कदमको बारेमा बताउनुभयो ।

बैठकमा संस्थाका सल्लाहकार श्याम श्रेष्ठ, लक्ष्मण वझा कार्यसमितिका पदाधिकारी उपाध्यक्ष अर्जुन चोखाल, सचिव गगनबहादुर पुन मगर, कोषाध्यक्ष चुडामणि सापकोटा सदस्यहरु माधव प्रसाद शर्मा, हेमलाल पौडेल, गणेश प्रसाद शर्मा र कर्जा उपसमितिका संयोजक मनकाजि विश्वकर्माले नीतिगत आर्थिक सल्लाह र बदलिदो आर्थिक बजार अनुसार सहकारीले अपनाउनु पर्ने सुधारका सुझावहरु राखेका थिए ।

सहकारीको मर्म, मूल्य, मान्यता र सिद्धान्तलाई थप प्रभावकारी बनाउनको लागि नयाँ विश्व बचत तथा ऋण सहकारीले सरोकारवालाहरुसँग समन्वय, सहकार्य र विमर्श कार्यक्रम पनि राख्ने भएको छ ।

बैठक नयाँ विश्व बचत तथा ऋण सहकारीका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपाध्यक्ष अर्जुन चोखालको स्वागत र सचिव गगनबहादुर पुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था विसं २०७७ साल पुष दश गते बागलुङ नगरपालिकाको सहकारी शाखामा दर्ता भइ विसं २०७८ असोज २१ गतेदेखि आर्थिक कारोबार सुरु गरेको थियो । बागलुङ नगरपालिका-३ किनारा टोलमा कार्यालय रहेको यस संस्थाले तीन जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung