५ कार्तिक २०८३, बुधबार

 

बागलुङका स्थानीय तहलाई साढे चार अर्ब बजेट, कुन पालिकामा कति ?

बागलुङ । बागलुङका १० स्थानीय तहलाई आगमी आर्थिक वर्षका लागि रु ४ अर्ब ५५ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।

संघीय सरकारबाट चालु आर्थिक वर्षको तुलनामा आगमी आर्थिक वर्षका लागि रु १८ करोड ११ लाख बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षमा बागलुङमा रु ४ अर्ब ७३ करोड ४७ लाख बजेट विनियोजन भएको थियो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकालाई संघीय सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि बजेट बाँडफाँट गरेको हो ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्तगत आगमी आर्थिक वर्षका लागि संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, सपपूरक अनुदान र राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई बजेट विनियोजन गरेको हो ।

विनियोजित बजेट मध्ये सबैभन्दा बढी बजेट बागलुङ नगरपालिका र सबैभन्दा थोरै तमानखोला गाउँपालिकामा रहेको छ । चार नगरपालिकालाई रु २ अर्ब ४३ करोड ८ लाख र छ गाउँपालिकालाई रु २ अर्ब १२ करोड २८ लाख बजेट बाँडफाड गरिएको छ ।

आगमी आर्थिक वर्षका लागि बागलुङ नगरपालिकामा रु ९१ करोड ३५ लाख, ढोरपाटन नगरपालिकामा रु ४१ करोड ५३ लाख, जैमिनी नगरपालिकामा रु ५६ करोड ७८ लाख, गलकोट नगरपालिकामा रु ५३ करोड ४२ लाख विनियोजन भएको छ ।

काठेखोला गाउँपालिकामा रु ४४ करोड ५५ लाख, तमानखोला गाउँपालिकामा रु २० करोड ३४ लाख, ताराखोला गाउँपालिकामा रु २६ करोड ४५ लाख, निसीखोला गाउँपालिकामा रु ३६ करोड ८३ लाख, बडिगाड गाउँपालिकामा रु ५५ करोड ४८ लाख र बरेङ गाउँपालिकामा २८ करोड ६३ लाख बजेट विनियोजन भएको छ ।

१० स्थानीय तहका लागि समानीकरण अनुदानबापत रु एक अर्ब ८४ लाख, सर्शत अनुदान तर्फ रु २ अर्ब ३६ करोड १४ लाख, विशेष अनुदान तर्फ रु १२ करोड ८१ लाख र समपुरक अनुदान शिर्षकमा रु १५ करोड ५७ लाख बजेट बाँडफाड गरिएको हो ।

स्थानीय तहले संघीय सरकारको अनुदान, प्रदेश सरकारको अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् ।संघीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung