बागलुङ । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छ महिने बाख्राको पाठा सोही ठाउँका तुलसी सापकोटालाई उपहार स्वरूप प्रदान गर्नुभयो ।
‘आत्मनिर्भर बागलुङ’ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले हेफरको प्राविधिक सहयोगमा महिलाहरूलाई १०४ बाख्राको पाठी वितरण गरेको छ । जस अन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गर्नु भएको हो । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहार स्वरुप प्रदान गर्नुभएको हो ।
बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफर परियोजनाको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको व्यवस्थापनमा बागलुङ नगरपालिकामा भित्रको १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागु गरिएको छ ।
आत्मनिर्भर बागलुङ कार्यक्रम अन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूह मार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गर्नुभएको छ । कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउँपुजिको रूपमा सापकोटालाई दिनुभएको हो ।

सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहार स्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियम अनुसार असार भित्र नगरपालिकाका १० वटा वडामा १०४ पाठी उपहार स्वरूप प्रदान गर्न थालिएको छ ।
उक्त उपहार कार्यक्रमले महिलालाई आय–आर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाले जनाएको छ ।
मालिकामा शनिबार नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उपहार स्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलाहरुलाई वितरण गर्नुभएको थियो । श्रेष्ठले विपन्न महिलाहरुलाई सानो सहयोग र तालिमले आत्मनिर्भर बन्न ठूलो सहयोग गर्ने बताउनुभयो ।

“मालिकाको उच्च भेग जस्तै विभिन्न वडामा बाख्रापालनको निकै संभावना छ, परम्परागतरुपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “बाख्राको पाठा मात्रै दिदैनौं, बाख्रापालनको सिप, खोर सुधार र आय आर्जनको रकम बचत गर्न सिकाउछौं, नगरपालिकाको बजार क्षेत्र बाहेकको वडामा बाख्रापालनको संभावना हेरेरै लगानी गरेका छौं ।”

बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफर परियोजना नेपालको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपभेन्ट फाउण्डेशनको सहजीकरणमा नगरपालिकाको १४ वडा मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ । कार्यक्रमबाट दुई वर्षमै २०८ महिला लाभान्वित भएका छन् ।
उनिहरुलाई बाख्रापालनकालागि बिउँपूजीबाट सहयोग मिलिरहेको छ । समुह अन्र्तगत रहेका महिलाहरु विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम अन्र्तगत १८ मुल समूह अन्र्तगत ७२ उपसमूह गठन भइसकेका छन् ।

महिलाहरुलाई दिएको पाठीलाई हुर्काउने र बिउँपूजीको रुपमा विकास गर्दा आय आर्जनमा सघाएको थुप्रै उदाहरण रहेको भन्दै अन्य पालिकामा महिलाहरुले बाख्रापालन गरेरै सहकारी चलाउने र करोडौं गाउँ भित्राउने गरेको नेपाल गाजा डेभलपमेन्ड फाउण्डेशनका कार्यक्रम व्यवस्थापक ममिता पुनले जानकारी दिनुभयो ।
उहाँले महिलाहरुलाई बाख्रापालनमा भोक जगाउने र बाख्रपालनलाई वृद्धि गर्ने तरिका सिकाउदा फलदायी हुँने जानकारी दिनुभयो । नगरपालिकाकै छिमेकी पालिका काठेखोला गाउँपालिकाको तंग्राममा महिलाहरुले बाख्रापालनबाटै वार्षिक एक करोड कमाउदै आएको बताउदै शुरुवाती दिनमा एउटा बाख्राको पाठीबाट उनिहरुले बाख्रापालन गरेको सुनाउनुभयो ।






















































































































































































































