
बागलुङ । बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती ।
यसैबाट गाउँमै सम्भावना खोजिरेका छन्, रघुनाथ पौडेल । उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुन्छन् ।
गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आएका पौडेल परिवारसँग प्लाष्टिक टनेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ ।
बाउछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन् । गाउँमा बसाइँसराइले बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ ।
परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइराखेका छन् ।
गाउँ रित्तियो, सम्पत्ति भएका त सहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ,” बुबा रघुनाथले भने, “हाल छवटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ ।
आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लाष्टिक टनेल, १० रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ ।” गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्न घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए ।
पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवाजस्तै विदेश हिँड्न मन लागेको छैन, बरू गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ ।
बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ । “हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ ” । छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुलापन गर्दै आएका छौँ ।
यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु,” राजनले भने । हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन् । यी सबै हुर्किए र उत्पादान शुरू भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ ।
बाँदरको आतङ्कपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन् । त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका छन् । यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए ।