५ असार २०८२, बिहीबार

 

अमेरिकाका लागि प्रलयकारी हुनेछ इरानसँगको युद्ध

अमेरिका एकपटक फेरि मध्यपूर्वको युद्धमा फस्ने सँघारमा आइपुगेको छ। यसपटक इजरायलले अमेरिकालाई युद्धमा घिसार्दै छ, जो झनझन् अमेरिकाको मित्रजस्तो देखिन छाडेको छ।

अमेरिकाले महिनौँदेखि गर्न खोजिरहेको आणविक सम्झौताको जेजस्तो सम्भावना थियो, त्यसलाई शुक्रबार इजरायलले इरानमाथि गरेको अचानकको आक्रमणले नष्ट गरिदिएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले निकै लापरबाहीपूर्वक सो क्षेत्रमा तैनाथ ४० हजार अमेरिकी सैनिकहरूलाई खतरामा पारिदिएका छन्। ती इरानको प्रतिशोधको निसाना बन्न सक्छन्। जसले अमेरिकालाई इरानसँगको युद्धमा धकेल्न सक्छ।

आक्रमणमा इरानले अमेरिकाको पनि सहमति रहेको आरोप लगाइरहेको छ। तर, इरानले अमेरिकी भूमिकाको जसरी व्याख्या गरे पनि इजरायलले अमेरिकालाई आवश्यक सावधानी अपनाउन पर्याप्त चेतावनी नदिई आक्रमण सुरु गरेको देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायलले चाँडै आक्रमण गर्ने बताए पनि अमेरिकाले आफ्ना सैनिकका परिवार तथा अत्यावश्यकबाहेकका दूतावासका कर्मचारीलाई त्यहाँबाट निकाल्ने प्रक्रिया बुधबार दिउँसो मात्र सुरु गरेको थियो। अझ अमेरिकी विदेश मन्त्रालयले आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि मात्र अमेरिकी नागरिकहरूलाई सो क्षेत्रबाट बाहिर निकाल्ने योजना बनाएको थियो।

यसबाट ट्रम्प र सबै अमेरिकीहरू क्रुद्ध हुनुपर्ने हो। अब नेतन्याहु र अमेरिकाका कट्टर समूहले इरानको आणविक प्रशोधन केन्द्रहरूलाई ध्वस्त पार्न सघाउनुपर्‍यो भनेर ट्रम्पलाई दबाब दिने निश्चित छ। किनकि इजरायली सेनाका लागि त्यो काम आफैँले गर्न कठिन छ। अमेरिकी सेनाले समेत त्यसमा असफलता बेहोर्न सक्छ। तर, अमेरिका इरानविरुद्धको युद्धमा सहभागी भए त्यो ट्रम्पको कार्यकालकै सबैभन्दा ठूलो गल्ती हुनेछ।

इरानसँगको युद्ध अमेरिकाका लागि ठूलो प्रलय हुनेछ। यो दशकौँदेखि मध्यपूर्वमा उसको हस्तक्षेपको चरम असफलता हुनेछ। साथै, यो ठिक त्यही नीति हुनेछ, जसको ट्रम्पले लामो समयदेखि विरोध गर्दै आएका थिए।

आधा संसार फट्को हानेर एउटा कमजोर देशसँग लड्दा अमेरिकालाई केही फाइदा हुने छैन। इरानले आफ्नो क्षेत्रमा त समस्या खडा गर्छ तर अमेरिकाका लागि उसले ठूलो सुरक्षा खतरा उत्पन्न गर्दैन। तर, अमेरिकाले गुमाउँछ चाहिँ धेरै। सबैभन्दा दुखद कुरा अमेरिकी सैनिकहरूले ज्यान गुमाउने खतरा रहन्छ। साथै, यो क्षेत्रमा आफ्नो पीडादायी अतीतबाट उम्किने मौका पनि अमेरिकाले गुमाउने छ।

सबैखाले राजनीतिक विचारधारा बोक्ने अमेरिकीहरू इरानसँगको युद्धको विरोधमा छन्। किनकि गत २५ वर्षमा मध्यपूर्वमा अमेरिकाको लडाइँबाट उनीहरूले दुईवटा ठूला पाठ सिकेका छन्। निवारणकारी युद्धले काम गर्दैन भन्ने त उनीहरूले बुझेका छन् नै, त्यसमाथि यस्तो युद्धले अनपेक्षित परिणाम पनि ल्याउँछ, जसले अमेरिकाको राष्ट्रिय सुरक्षामा स्थायी प्रभाव पार्न सक्छ।

छलका आधारमा सुरु गरिएको २००३ को इराक युद्ध पनि आणविक हतियार रोक्नकै लागि भनेर गरिएको थियो। तर, त्यसले प्रलय निम्त्यायो। सद्दाम हुसेनसँग आम नरसंहारकारी हतियार नभएकाले मात्र होइन। अमेरिकी आक्रमणले इराकमा भद्रगोल र गृहयुद्ध जन्मायो। अनि क्षेत्रीय शक्ति सन्तुलन इरानको पक्षमा ढल्काइदियो। किनकि त्यो युद्धले इरानलाई इराकमा आफ्नो प्रोक्सी मिलिसिया स्थापित गर्ने मौका दियो। अन्ततः सो युद्धले आईएसआईएसको उदयलाई पनि मार्गप्रशस्त गर्‍यो।

इरानसँगको युद्ध त्यहाँभन्दा सजिलो होला भनेर सोच्ने कुनै कारण छैन। बरु, त्यो भन्दा अझ विनाशकारी हुन सक्छ। यदि अमेरिका यो युद्धमा सामेल भयो भने उसले स्थल सेना उतारेर होइन, हवाइ आक्रमण गरेर सुरु गर्ने सम्भावना छ। किनकि इरानमा दुर्गम पहाडी इलाका छ।

तर, भर्खरै हुतीविरुद्धको ७ अर्ब डलर खर्च भएको असफल सैन्य कारबाहीले देखाइसकेको छ– हवाइ आक्रमण साह्रै महँगो हुन्छ, यसमा अमेरिकीहरूको ज्यान जाने जोखिम पनि रहन्छ र अन्ततः असफल हुने सम्भावना पनि ज्यादा हुन्छ। अमेरिकाले यमनजस्तो गरिब देशलाई समेत नियन्त्रणमा लिन नसकेको हुतीजस्तो कमजोर समूहविरुद्ध समेत कहिल्यै हवाइ श्रेष्ठता हासिल गर्न सकेन।

हुतीको तुलनामा इरान आफ्नो बचाउ गर्न धेरै गुणा सक्षम छ। यदि हवाइ आक्रमणले इरानको आणविक क्षमता नष्ट गर्न सकेन भने लौ स्थल सैनिक पनि सँगसँगै लैजानुपर्‍यो भन्ने दबाब अमेरिकामाथि नाटकीय रूपले बढ्न सक्छ। सायद अफगानिस्तानमा तालिबानलाई सत्ताच्यूत गर्दा जस्तै।

त्यसको परिणाम के भयो, हामीलाई थाहै छ। सानो र छोटो बनाउने मनसायका साथ सुरु गरिएको अफगान युद्ध प्रलयकारी २० वर्ष लामो द्वन्द्वमा परिणत भयो। सुरुमा मात्र १३ सय अमेरिकी सेनाले भाग लिएको युद्धमा २०११ सम्म आइपुग्दा १ लाख हाराहारी अमेरिकी सेना तैनाथ भए। र, अन्ततः २ हजार ३२४ अमेरिकी सैनिकहरूले ज्यान गुमाए।

मानौँ, भनेजस्तो भयो र अमेरिकाले इरानका अधिकांश आणविक केन्द्रहरू ध्वस्त पार्‍यो। तर, त्यसले पनि आणविक बम बनाउने इरानको प्रक्रियालाई अलिकति ढिला मात्रै पार्ने हो। युद्धले हतियारको विकास रोक्न सक्दैन। सोहीकारण इरानसँग व्यवहार गर्ने सवालमा या त कूटनीति, नत्र बेवास्ता गर्नु नै राम्रो उपाय हो।

इरानले आणविक सम्बद्र्धन कार्यक्रम थालेको २० वर्षभन्दा बढी भइसक्यो। त्यसलाई उसले मुलुकभरिका अनेकौँ स्थानमा विस्तार गरेको छ। जसमा उसले हजारौँ वैज्ञानिकहरूलाई खटाएको छ। इस्फहानको एउटा केन्द्रमा मात्र ३ हजार वैज्ञानिकले काम गर्छन्। हतियार निर्माणका लागि युरेनियम कसरी समृद्ध गर्ने, इरानका पर्याप्त वैज्ञानिकहरूलाई थाहा छ। ती सबैलाई इजरायलले मार्न सक्दैन। जबकि तिनैलाई ताकेर उसले आक्रमण गरिरहेको छ।

प्राविधिक ज्ञानको निरन्तरता कायम रहन्छ भन्ने मान्ने हो भने इरानले सम्भवतः छोटो समयमै आफ्ना परमाणु केन्द्रहरूको पुनर्निर्माण गरिसक्ने छ। र, निस्सन्देह अटेरी इरानी शासनले भविष्यमा इजरायली र अमेरिकी आक्रमण रोक्नकै लागि पनि हतियार बनाएरै छाड्ने संकल्प लिनेछ।

इजरायलको जोड छ– इरानले कसैगरी कहिल्यै पनि आणविक बम बनाउन सफलता हात पार्नु हुँदैन। यसले नेतन्याहु इरानी सत्ता ढले आफ्नो विजय हुन्छ भन्ने विश्वासमा रहेको संकेत गर्छ। त्यसलाई पुष्टि गर्नेगरी इजरायलले तेहरानको नेतृत्वलाई समाप्त पार्ने उदेश्यले आक्रमण गरिरहेको देखिन्छ।

नेतन्याहुले इजरायलमा सत्ता बदल्ने चाहना राखेको अहिले मात्र होइन। गत सेप्टेम्बरमा उनले सत्ता परिवर्तन ‘मान्छेहरूले सोचेभन्दा छिटो’ हुनसक्ने बताएका थिए। त्यतिबेला फ्रान्सेली कूटनीतिक स्रोतले ल मोन्ड पत्रिकालाई भनेको थियो, ‘एउटा निश्चित वृत्तमा के विचार घुमिरहेको छ भने इजरायलीहरूले हामीलाई एउटा ऐतिहासिक घडीतर्फ लगिरहेका छन्। सम्भवतः यो इरानी शासनको अन्त्यको सुरुवात हो।’

डिसेम्बरमा सिरियाका बसर अल असदको पतनले इरानमा पनि त्यस्तै उथलपुथल हुने अड्कल बढाइदियो। अमेरिकाका केही उग्र विचार राख्ने व्यक्ति र प्रवासी इरानीहरूले अहिले तेहरानमा सत्ता परिवर्तन अपरिहार्य भइसकेको दाबी गरिरहेका छन्। ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भनेका छन्, ‘इरानमा सत्ता परिवर्तनको अभियानका बारेमा सोच्ने समय अब आयो।’

यो चटकी सोच हो। इतिहासले बारम्बार देखाइसकेको छ– जुन देशमा बमबारी गर्‍यो, त्यो देशका जनता आक्रमणकारीका विरुद्ध उभिन्छन्, नकि आफ्नै देशका शासकविरुद्ध। भलै आफ्नो देशको शासन जतिसुकै अलोकप्रिय किन नहोस्। पछिल्लो आक्रमणपछि इरानीहरू सडकमा उत्रिएका छन्। तर, आफ्नो सरकारको विरोधमा होइन, इजरायलविरुद्ध बदलाको माग गर्दै।

मानौँ, इरानी शासन ढलेछ रे। त्यसपछि के त  ? इरानी सरकारको जतिसकै कमजोरी भए पनि सरकार नहुँदाको अराजकताभन्दा खराब सरकार नै भए पनि राम्रो कुरा हो। के हामी इरान अमेरिकी आक्रमणपछि इराक वा लिबियाजस्तै असफल राष्ट्र बनोस् भन्ने चाहन्छौँ ?

पहिलो कार्यकालमा आफूले कुनै नयाँ युद्ध सुरु नगरेर कीर्तिमान राखेको भन्दै ट्रम्प खुब बखान गर्ने गर्छन्। त्यो कीर्तिमान विरासतमा बदलिन लायक छ। त्यसैले युद्धमा सहभागी भएर आत्मघात गर्ने नेतन्याहु र स्वदेशी कट्टरपन्थीहरूको दबाबको उनले प्रतिरोध गर्न आवश्यक छ।

(न्युयोर्क टाइम्सबाट डा. रोजमेरी केलानिक डिफेन्स प्रायोरिटिज नामक अमेरिकी थिंक ट्यांकको मध्यपूर्व कार्यक्रम निर्देशक हुन्) नेपालखबरबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung