बागलुङ । बागलुङ नगरपालिकाले एक घर एक सीप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका नगरसभाको १७ औं अधिवेशनमा सोमबार नीति कार्यक्रम प्रस्तुत गर्दै बागलुङ नगर प्रमुख वसन्त कुमार श्रेष्ठले प्रत्येक घरबाट कम्तीमा एक जनालाई स्वरोजगार बनाउनका लागि एक घर एक सीप विकास कार्यक्रम सञ्चालन गर्ने गरी नीति लिएको जानकारी गराए । यसले स्वदेशमा नै रोजगारको सिर्जना गर्ने विश्वास नगरपालिकाको छ ।
कामका लागि विदेश जाने युवा युवतीलाई सीप विकास तालिम सञ्चालन गर्ने नगरको नीतिमा उल्लेख । परदेशको ज्ञान जन्मभूमिमा योगदान भन्ने नाराका साथ वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा पशुपालन गर्न बिना धितो सहुलियत कर्जा प्रदान गर्ने नगरपालिकाले नीति लिएको छ । नगरक्षेत्र भित्र रहेका श्रमिकहरुको सीप अनुभव र व्यक्तिगत विवरणको अभिलेख गरी नगरपालिकामा श्रम बैंक स्थापना गर्ने नीतिमा उल्लेख छ ।
श्रम बैंकमा आवद्धलाई नगरक्षेत्र भित्र सञ्चालन हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाइ, विपद व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा रोजगारीको सिर्जना गर्ने जनाइएको छ ।
रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनका लागि मिसन रोजगारी सन्चालन गर्ने नगरपालिकाको नीतिमा उल्लेख छ । सहिद वेपत्ता घाइते तथा द्वन्द्वपीडितको परिवारलाई आयआर्जन तथा रोजगारीमा जोड्नका लागि विशेष कार्यक्रम सन्चालन गर्ने, नगरक्षेत्र भित्र ठूला उद्योग, कलकारखाना, पर्यटन, कृषि उद्योग तथा ठूला विकासका पूर्वाधारमा लगानी जुटाउन बागलुङ लगानी सम्मेलन गर्ने नीति नगरपालिकाको छ ।


नगर उपप्रमुख घरबास कार्यक्रम मार्फत होमस्टे सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम मार्फत ‘घुम्न जाउ बागलुङ’ कार्यक्रम सन्चालन गर्ने, जिओलोजी पार्क, केवलकार, शाहसिक पर्यटन, रक क्लाइम्बिङ, इस्काई वाल्क लगायत निर्माणका लागि साझेदार खोजी गर्ने नगरपालिकाको नीतिमा छ ।
बागलुङको धार्मिक पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार गर्ने लेखिएको छ । जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियानलाई प्रभावकारी बनाउनका लागि शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा तह मिलान गर्ने कार्यलाई निरन्तरता दिने नीतिमा छ ।
एक विद्यालय एक पुस्तकालय सञ्चालन गर्ने, नगरप्रमुख छात्रवृत्ति कोष मार्फत अनाथ तथा विपन्न समुह र न्यू आय भएको कुनै पनि कारणबाट विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई आधारभूत तहको शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालयको नीति बमोजिम एक वडा एक विद्यालय हुनेगरी पूर्वाधार तयार भएका विद्यालयमा यसै आर्थिक वर्षबाट आवासीय विद्यालय सञ्चालन गर्ने नीति नगरपालिकाले अख्तीयार गरेको छ ।
पढ्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई नगरका सबै माध्यमिक विद्यालयमा पु¥याउने, गर्भवती र सुत्केरी शिक्षकले सट्टा शिक्षक राख्नुपर्ने, विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन गर्ने, नगरप्रमुख विद्यालय सुधार कार्यक्रम सञ्चालन गर्ने, पढाई मेला कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमलाई बागलुङ नगरपालिकाले नीति कार्यक्रममा समावेश गरेको छ ।
गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, ज्येष्ठन नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा, विद्यालय नर्स कार्यक्रमलाई प्रभावकारी बनाउने, नगरप्रमुख स्वास्थ्य बीमा कार्यक्रम मार्फत दलित मुस्लीम र माझी समुदायका साथै स्वास्थ्य स्वयंसेविका, अपाङ्गता भएका व्यक्ति, मजदुर र अति विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने, नगरकी छोरी कार्यक्रमलाई निरन्तरता दिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
भगत सर्वजित विश्वकर्मा सीप विकास कार्यक्रम मार्फत दलित वर्गको उत्थानका लागि आयमूलक, रोजगारमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने नीतिमा लेखिएको छ । सुन्तला ओखर, च्याउ र तरकारी पकेट क्षेत्र विस्तार गर्ने, माटो परीक्षण गरी उपयुक्त खेतीका लागि किसानलाई प्रेरित गर्ने, करार खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, रैथाने बालीको संरक्षणका लागि आवश्यक सीप प्रविधि सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
एक वडा एक उत्पादनलाई पकेट क्षेत्र बनाईने, कृषि बजार स्थापना गर्ने, चैते धान प्रवद्र्धन हिउँदे धान प्रवद्र्धन, फलफुल बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, विषादीमुक्त खानपान बागलुङको पहिचान भन्ने नाराका साथ जैविक खेतीलाई प्रोत्साहन, कौसी खेती प्रवद्र्धन, मासुमा आत्मनिर्भर बागलुङ बनाउने, निःशुल्क कृषि तथा पशुसेवा परामर्श सेवा सञ्चालन गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।
पूर्वाधार विकासतर्फ एक वडा एक खेलमैदान निर्माण, एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रम, खानेपानीमा एक घर एक धारा कार्यक्रम, उज्यालो बागलुङ अन्तर्गत बागलुङ बजारमा हाईमास्ट बत्ती जडान गर्ने लगायतका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
































































































































































































