४ श्रावण २०८३, सोमबार

 

नौ वर्षमा टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र

बागलुङ । २०७३ सालमा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रुपमै गाउँपालिकाको केन्द्र टुङ्गाएको छ ।

काठेखोला गाउँपालिकाको सबै राजनीतिक दलहरुको सहमती पश्चात बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रुपमा पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो ।

बागलुङका १० पालिका मध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुन सकेको थिएन ।

भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा संचालनमा हुँदै आएको छ ।

काठेखोला गाउँपालिका–२ अक्षते र वडा नम्बर ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध बनाउने भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो ।

असार १० गते १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्गाएर भवन बनाउने विषयमा मतदान समेत भएको थियो । मतदानका क्रममा समेत अक्षते र सुलल्डाँडा कुनै पनि ठाउँका लागि दुई तिहाई मत प्राप्त हुन सकेको थिएन ।

अक्षतेमा प्रशासकीय भवन निर्माण गर्नका लागि १५ जना र सुल्डाँडामा बनाउनु पर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए ।

बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनीक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमती पश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रुपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

“स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले ६ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ” अध्यक्ष थापाले भन्नुभयो “राजनैतिक दलको एकताको कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माण स्थल सर्वसहमतीमा टुङ्गो लाएको हो, पालिकाले अहिले मासिक ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।”

गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घरहरु भाडामा लिएर कार्यालय संचालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घर भाडा भाडा तिर्दै आएको छ । बागलुङका अन्य ९ पालिकाले आफ्नै भवन बनाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung