बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
निसीखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रा.लि.को सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले जनप्रतिनिधि र कर्मचारीलाई समृद्धि निसीखोलाका लागि ध्यान दिएर काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय जीवन पुन मगरले चालु आर्थिक वर्ष २०८१/०८२ को हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पालिकाले ल्याएका जम्मा २१८ योजना मध्ये १७९ योजना फरफारक भइसकेको बताउँदै ३९ योजना भुक्तानीको चरणमा पुगेका पुन मगरले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाको पूजिगत प्रगती ६० प्रशितत सम्पन्न भएको बताउनुभयो । ठूला ठेक्का भुक्तानीको चरणमा पुगेको बताउनभुयो । उहाँले लक्ष्यको ११९ प्रतिश राजश्व संकलन गरेको बताउदै बेरुजु घटाएर १३ करोडमा झारेको जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताको विभिन्न विषयमा प्रश्नहरु गरेका थिए भने केही महत्वपूर्ण सुझावहरु समेत दिएका छन् ।
उनिहरुले विकास निर्माण योजनाबद्ध ढंगले गर्नुपर्ने, दीर्घकालिनरुपमा फाइदा पु-याउने योजना ल्याउन पालिकालाई सुझाव दिएका थिए । घङ्ग्रेनीको कुलो अलपत्र परेको गुनासो गरेका थिए ।
कार्यक्रममा स्थानीय नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भूमिराज घर्ती मगर, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रुद्र प्रसाद पौडेल, इश्वरी कँडेल र ठक बहादुर बिक लगायतका स्थानीय नागरिकले निसीखोला गाउँपालिकालाई प्रश्न तथा सुझाव राखेका थिए ।
उनिहरुले स्वास्थ्य बीमा कार्यक्रममा नागरिकलाई विभे गरेको, योजना छनौटमा राजनीतिक प्रतिशोध साधेको बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकर्ता नागरिकहरुले सबैभन्दा बढी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, मोटरबाटो, सिँचाइ, विकास निर्माण तथा योजना, राजश्व तथा कर असुली, कर्मचारी व्यवस्थापन, नागरिकको सेवा प्रवाह लगायतका विषयमा थप प्रश्नहरु गरेका थिए ।
प्रश्नकर्ताहरुले उठाएका विभिन्न प्रश्नहरुमाथि निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर, उपाध्यक्ष प्रेम घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, विभिन्न वडाका वडाअध्यक्षहरु, पालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख लगायतले स्पष्ट रुपमा जवाफ दिनुभएको थियो ।
अध्यक्ष घर्तीले नागरिकको सुझाव लिएरै पालिका अघि बढेको जिकिर गर्नुभएको थियो । घर्तीले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझै बलियो बनाउँन र नागरिको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आफूहरु निरन्तर लागिरहने भन्दै जनताको सुझावलाई कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव नवराज नेपालीले नागरिक सन्तुष्टि फारम भरी नमूना सर्वेक्षणबाट प्राप्त पालिकाको अवस्था र सूचकहरुबारे प्रस्तुत गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले सार्वजनिक सुनुवाईमाथी टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रम निसीखोला गाउँपालिकाका सुशासन समितिका संयोजनक सवराज छन्त्यालको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार बिजय रानाले गर्नुभएको थियो ।














































































































































































































