बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरु पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकहरुका लागि खान बस्नमा सघाउदै आएका गोठालको आम्दानी बढ्दै आएको छ ।
पदमार्ग आसपास र बुकीपाटनमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकी पाटन पुगेका पर्यटकहरु गोठमै बस्ने र खाने गर्दा भैसीको दूध, घ्यु तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो ।
गोठालाले उत्पादन गरेको दूध, दही र मोहीसमेत बुकीपाटनमै खपत भएपछि आय आर्जनमा वृद्धि भएको गोठालाहरु बताउछन् । उनिहरुले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन् ।
भैँसीपालेर घ्यु उत्पादन गरेर विक्री गर्दै आउनुभएका बुकी पाटनका भैसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनको रुपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउनुभयो ।
“पहिला त ढोरपाटन ल्याएर घ्यू विक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले वर्खामा पर्यटकहरु भरीभराउ छन् बुकीपाटनमा पर्यटकहरु आएपछि मोहीसमेत विक्रि हुन्छ” विकले भन्नुभयो “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही विक्री भएपछि बोकेर ढोरपाटन ल्याउनै पर्ने भएन ।”
बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया विक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताउनुभयो । बुकी उक्लनेहरुलाई प्रति गिलास एक सयमा चिया विक्रि गर्दै आएको उहाँको भनाई छ । दूधको चिया खपत भएपछि घ्यु र दही बनाउने झन्झट नभएको कुमाईको भनाई छ ।
उहाँको गोठमा एकै दिन सय गिलास सम्म चिया खपत भएको छ । तीन वटा भैँसी र ६० वटा बाख्रा पाल्दै आउनुभएको कुमाईको चेप्टेढुङ्गामा अस्थायी घुम्ती गोठ रहेको छ । पदयात्राको छेउमै गोठ भएकाले दूध र चिया असार यता निकै खपत भएको उहाँको भनाई छ ।
“बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घ्यू बनाउन आवश्यक छैन” कुमाईले भन्नुभयो “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मही समेत अहिले महङ्गो मुल्यमा विक्री हुन्छ, घण्टौ हिडेका पदयात्रीले मिठो मानेर मोही, दही, चिया खाने गरेका छन् ।”
ढोरपाटनमा एक वर्षमै ८ हजारले पर्यटक वृद्धि भएपछि बुकीपाटन यसपटक गुल्जार बनेको छ । ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या वर्षेनी बढ्दै गएपछि घोडा सफारी गर्ने, घरबासमा बस्ने र गोठमा बस्ने पर्यटकका कारण आय आर्जनमा सघाएको छ ।
ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजला लगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि २ हजार ९०० मिटरको उपत्यका देखि चार हजार भन्दा माथीको बुकीपाटन सम्म पर्यटक पुग्ने थालेका छन् ।













































































































































































































