३ श्रावण २०८३, आईतवार

 

अमेरिकाको प्रतिकारका लागि तयार छ भेनेजुएला ?

भेनेजुएलाले गत मंगलबार आफ्नो तटीय क्षेत्रमा बढ्दो अमेरिकी नौसेनाको उपस्थितिको प्रतिक्रियामा ठुलो देशव्यापी सैन्य तैनाथीको घोषणा गर्‍यो । बिहीबार नै अमेरिकाले ‘साउर्दन स्पियर’ नामक सैन्य अप्रेसनको घोषणा गरेको छ ।

अमेरिकाले आफ्नो सैन्य वृद्धिलाई पश्चिमी गोलाद्र्धका ‘लागुऔषध–आतंकवादी’प्रति लक्षित रहेको बताएको छ । तर, यसले काराकसमा भने चिन्ता बढाएको छ । अमेरिकी अभियानको पछाडि राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने मूल उद्देश्य रहेको भेनेजुएलाको बुझाइ देखिन्छ । यदि अमेरिकाले आक्रमण गरिहाले भेनेजुएला प्रतिरोधका लागि कत्तिको तयार छ त ?

ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा अमेरिकाभित्र लागुऔषध तस्करी गर्ने डुंगाहरूमा एकपछि अर्को आक्रमण गरेको छ । गत साता यस आक्रमण शृंखलामा २०औँ हमला गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

आक्रमणमा हालसम्म ८० जनाको मृत्यु भइसकेको छ । वासिंटनले लागुपदार्थ ओसारपसार गर्ने कार्टेलसँग मिलेर भेनेजुएलाका मदुरोले अमेरिकामा लागुपदार्थको तस्करी गरिरहेको भन्ने अप्रमाणित आरोप लगाइरहेको छ । हवाई आक्रमणका अतिरिक्त अमेरिकाले भेनेजुएलानजिकको समुद्रमा ठुलो सैन्य तैनाथी बढाउँदै लगेको छ ।

पछिल्लो समय अमेरिकाले विश्वकै सबैभन्दा उन्नत र ठुलोमध्ये एक युद्धपोत ‘युएसएस जेराल्ड आर फोर्ड’लाई क्यारिबियन पठाएको छ ।

‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस)’मा रक्षा तथा सुरक्षा कार्यक्रमका वरिष्ठ सल्लाहकार मार्क क्यान्सियनका अनुसार यो युद्धपोत वासिंटनले भनेको लागुऔषध तस्करी नियन्त्रण गर्ने घोषित उद्देश्यका लागि उपयुक्त छैन । ‘फोर्ड युद्धपोत लागुपदार्थविरोधी अप्रेसनका लागि भन्दा समुद्रमा वा जमिनमा विरोधीमाथि आक्रमण गर्न उपयुक्त छ,’ क्यान्सियनले भने ।

भेनेजुएलाको तयारी

भेनेजुएलाले क्यारेबियनमा अमेरिकी उपस्थिति बढ्न थालेपछि सेप्टेम्बरमै ‘इन्डिपेन्डेन्स प्लान २००’ नामक सैन्य प्रतिक्रिया संयन्त्र सुचारु गरेको थियो । मंगलबार रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले ‘इन्डिपेन्डेन्स प्लान २००’ अन्तर्गतको ‘अन्तिम चरण’ सक्रिय गरिएको घोषणा गरे ।

‘यसअन्तर्गत सैन्य अभ्यासका लागि देशभर लगभग दुई लाख सेना तैनाथ गरिएका छन्,’ पाद्रिनो लोपेजले थपे । अभ्यास मंगलबार सुरु भएर बुधबार समाप्त हुने समयतालिका छ । ‘साम्राज्यवादी आक्रामकता’ र वासिंटनको ‘विश्वको मालिक’ वा ‘विश्व प्रहरी’ बन्ने प्रयासविरुद्ध पछिल्लो परिचालन गरिएको बताउँदै लोपेजले भेनेजुएला आफ्नो स्वतन्त्रता, स्वधीनता र सार्वभौमिकताप्रति प्रतिबद्ध रहेकोमा जोड दिए । अमेरिकाले गुप्त रूपमा मदुरो शासनविरुद्ध भेनेजुएलाको सैन्य संयन्त्रमा विभाजन निम्त्याउने प्रयाससमेत गरिरहेको चर्चा छ ।

भेनेजुएली सेना कति शक्तिशाली ?

‘ग्लोबल फायरपावर’ले तयार पारेको २०२५ सैन्य क्षमतासम्बन्धी वरीयतामा भेनेजुएला सैन्य क्षमताका हिसाबले विश्वका १६० देशमध्ये ५०औँ स्थानमा छ । ल्याटिन अमेरिकाभित्र भने यो सातौँ स्थानमा छ । ब्राजिल, मेक्सिको र अर्जेन्टिनाजस्ता क्षेत्रीय शक्ति ऊभन्दा अगाडि छन् भने कोलम्बिया, चिली र पेरु उसकै हाराहारी उभिएका छन् ।

यसै साता सिएसआइएसले जारी गरेको एक रिपोर्टअनुसार भेनेजुएलाको वायुसेना उति बलियो देखिँदैन । ऊसँग ४९ वटा सैन्य विमान भए पनि जम्मा ३० वटा मात्र काम गर्ने अवस्थामा रहेको विश्वास छ । त्यस्तै, प्रतिबन्धका कारण विगतमा अमेरिकासँग किनिएका एफ–१६ युद्धक विमानका पार्टपुर्जा फेर्न नसकिएकाले केवल तीनवटा एफ–१६ मात्र काम गर्ने अवस्थामा रहेको मानिन्छ ।

पछिल्लो समय भेनेजुएलाले ठुलो परिमाणमा रुसी हतियार प्रणाली खरिद गरिरहेको छ । यसअन्तर्गत अर्बौं डलरको रुसी मिसाइल र लडाकु जेट किनिएका छन् । यी खरिदपछि भेनेजुएलासँग कम्तीमा २१ वटा रुसी एसयु–३० एस आइपुगेका छन् । सन् १९८० को दशकमा विकसित यो रुसी लडाकु विमानले ‘सुपरसोनिक’ जहाजमाथि आक्रमण गर्न सक्ने मिसाइलसमेत बोक्न सक्छन् ।

यसले भेनेजुएलानजिकै सञ्चालन हुने नौसेना युद्धपोतका लागि खतरा निम्त्याउन सक्छ । त्यसैले, द्वन्द्वको स्थितिमा भेनेजुएलाका लडाकु विमान सम्भवतस् अमेरिकाको पहिलो निसाना हुनेछ । अमेरिकाले यस क्षेत्रमा उन्नत एफ–३५ स्टिल्थ लडाकु विमान तैनाथ गरिसकेको छ ।

खासमा तिनको तैनाथी सम्भवतस् भेनेजुएलाका लडाकु विमान र त्यसको हवाई रक्षा प्रणाली सोचेर नै गरिएको हो । तथापि, जमिनमा भने समुद्रमा तैनाथ गरिएका सीमित अमेरिकी सेनाको तुलनामा भेनेजुएलाको सेनाको उल्लेखनीय रूपमा ठुलो उपस्थिति छ ।

‘ग्लोबल फायरपावर’का अनुसार ३।१ करोड जनसंख्या भएको भेनेजुएलामा तीन लाख ३७ हजार सक्रिय सैन्य कर्मचारी छन्, जसमध्ये एक लाख नौ हजार सक्रिय सैन्य बल र दुई लाख २० हजार अर्धसैनिक बल हुन् । बाँकी आठ हजार भने रिजर्भ बल हो । तथापि, अन्य सबै कुरामा अमेरिका सैन्य रूपमा भेनेजुएलाभन्दा धेरै अगाडि छ ।

अमेरिकी उद्देश्य रणनीतिक

ट्रम्पले भेनेजुएलानजिक समुद्रमा सैन्य वृद्धिलाई अमेरिकामा लागुऔषधको प्रवाहलाई रोक्न आवश्यक रहेको भन्दै जायज ठहर्‍याउने प्रयास गरेका छन् । तर, धेरै विश्लेषक भने ट्रम्पको उद्देश्य लागुऔषध रोक्नेभन्दा वर्तमान सरकारलाई सत्ताच्युत गर्ने रहेको बताइरहेका छन् ।

भन्न त ट्रम्पले भेनेजुएलामाथि आक्रमण गर्ने योजना नरहेको बताएका छन् । भेनेजुएली राजनीतिकशास्त्री कार्लोस पिना पनि वासिंटनको रणनीति सैन्य आक्रमणभन्दा पनि राजनीतिक दबाब सिर्जना गर्ने रहेकोमा विश्वास गर्छन् ।

‘अमेरिकाको मुख्य विकल्प सशस्त्र आक्रमण गर्नेभन्दा निकोलस मदुरोलाई राजीनामा दिन र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न पर्याप्त दबाब दिनु हो । अमेरिकाको हकमा यही नै सबैभन्दा उपयुक्त विकल्प पनि हो,’ पिनाले भने । पिनाका अनुसार मदुरो पनि यस रणनीतिबारे पूर्ण जानकार छन् ।

‘मदुरोलाई यो थाहा भएकैले कुनै पनि सम्भावित हस्तक्षेपको मूल्य ठुलो बनाउने प्रयास गरिरहेका छन्,’ पिनाले भने, ‘साथै अमेरिकी आक्रमणको ल्याटिन अमेरिका र देशभित्रै पनि विरोध हुनेछ भन्नेमा उनी विश्वस्त देखिन्छन् ।’

अमेरिकी तैनाथी बढ्दै जाँदा वासिंटनमै पनि राजनीतिक दबाब बढ्न सक्छ । क्यारेबियन क्षेत्रमा यति धेरै सैन्य उपकरण पठाएपछि ट्रम्पलाई पनि कुनै उपलब्धि नदेखाई पछि हट्न गाह्रो भएको छ । ‘ट्रम्पमाथि सम्भवतस् हार देखिनबाट बच्न केही गर्नैपर्ने दबाब छ । त्यसैले उनी काराकासमा राजनीतिक परिवर्तनलाई दबाब बढाउन सम्भवतस् अमेरिकी सैन्य उपस्थिति बढाइरहनेछन्,’ पिनाले भने ।

– अलजजिराबाट (नयाँपत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung