३ श्रावण २०८३, आईतवार

 

बागलुङमा मेयरकप फुटबल प्रतियोगिता सुरु

बागलुङ । बागलुङमा बागलुङ नगरपालिकाको आयोजनामा सर्वाधिक पुरस्कार राशीको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको । प्रतियोगिता बाङ्गेचौर खेलमैदानमा आइतबारदेखि शुरु भएको हो ।

नगर खेलकूद विकास समितिद्वारा आयोजित मेयर कपको उद्घाटन नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै खेलाडी उत्पादनका लागि खेल प्रतियोगिताले सघाउने बताउनुभयो । उहाँले पर्यटनको विकासका लागि समेत खेल क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले बागलुङले खेलकूद क्षेत्रमा अघि बढ्नका लागि खेलकूदका गतिविधि महत्वपूर्ण रहेको जानकारी दिनुभयो । बागलुङको पहिचान बढाउनका लागि खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेल, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, बानपा–१ का वडा अध्यक्ष जयबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज बोसेलको अध्यक्षता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको स्वागत तथा पत्रकार तारा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

मेयरकपमा आयोजक बागलुङ नगरपालिका सहित १० टिम सहभागी रहेका छन् । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुने छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्ने छन भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार रुपियाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung