बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले शुक्रबारदेखि आयोजना गर्न थालेको ८औँ बागलुङ महोत्सव तयारी पुरा भएको जनाएको छ ।
जिल्लाकै ठूलो मेलाका रुपमा रहेको महोत्सवलाई भव्य बनाउन आयोजकले तिब्र ढंगले अगाडि बढ्को छ । महोत्सवको पूर्वसन्ध्यामा बागलुङ बजारमा धजा पटकाले सिघाँरिएको छ ।
बागलुङ नगरपालिका-१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा महोत्सवलाई आकर्षक बनाउनका लागि रचनात्मक ढंगले काम गरिरहेको छ । महोत्सवमा रहेको २०० बढी स्टलहरु बुकिङ भइसकेका छन् ।
महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष राजनकुमार शाक्य जानकारी दिनुभयो । उहाँले सुन्तलाको विषेश प्रदर्शनी र बागलुङमा उत्पादन भएका स्थानीय सामग्रीको विशेष स्टलहरु राखिने बताउनुभयो ।
महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निःशुल्क स्टल दिइने भएको छ । महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिनुभयो ।
महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय खेलमा अहिलेसम्म ७ टिम सहभागी बन्ने जनाइएको छ । महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नु हुनेछ ।
पुस १६ गते पर्यटनमन्त्रीको उपस्थितिमा बागलुङ पर्यटनसम्बन्धी चर्चा हुने र फोटो प्रदर्शन पनि हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।
यस्तै, महोत्सवमा टिकटक च्यालेन्ज, हेलिकप्टरबाट दृश्यालोकन तथा कथा वाचन प्रतियोगिताजस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि समावेश गरिएको पूर्वअध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।













































































































































































































