बागलुङ । एक दशक अघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यको रुपमा परिचित भइसकेको छ । प्राकृतिक भ्यूटावरको रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाई आँखै अघिको हिमाल पर्न जान्छ ।
पहिचान, प्रचार र प्रर्वद्धन सहित स्थानीयहरु जागरुक बनेपछि बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका -३ भकिम्ली म्याग्दीको सीमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाईमा हिमाल पर्ने गरेको छ ।
बेलढुङ्गाबाट सम्मुखमै दर्जनौ हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिदै आएको थियो । तर उक्त स्थानमा अहिले रेलिङ सहितको फराकिलो पूर्वाधार निर्माण भएको थियो ।
नाम सुन्दै आएको मैले आँखै अघि बेलढुङ्गाबाट हिमाल हेर्न पाउदा मोहित भएको बागलुङ नगरपालिका–९ तित्याङका लाल बहादुर थापाले जानकारी दिनुभयो । बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमश्रृङ्खला, हराभरा बनजंगलको मनोरम दृश्य यसको प्रमुख आर्कषणको केन्द्र रहेको थापाको भनाई छ ।
समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैमा मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेको उहाँको भनाई रहेको छ । यहाँबाट नेपालमै एकै पटक धेरै हिमाल देखिने मध्यको ठाउँमा पर्ने स्थनाीय गोपाल श्रीसको भनाई छ ।
श्रीसका अनुसार रुकुमको पुथा हिमालदेखि धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु देखि रसुवाको लाङटाङ सम्मको हिमाल देख्न सकिने श्रीसको भनाई छ । बेलढुङ्गाको केही तल देउराली सम्म मोटरबाटोको पहुँच पुगेको छ ।
देउराली धुरीबाटबाट झण्डै एक किलोमिटर पदमार्ग मार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । “एकै पटकमा दर्जन हिमाल आँखै अघि देख्ने नेपालका कम स्थान मध्ये बेलढुङ्गा हो, अहिले यहाँ पूर्वाधारले गति लिएको छ, देरालीमा सडक पुगेको छ भने खानेपानी ल्याउने प्रयास थालिएको छ” श्रीसले भन्नुभयो “बेलढुङ्गा घरबासमा बसेका पर्यटक बिहान हिमाल हेर्न बेलढुङ्गा पुग्ने गर्दछन्,
चैत वैशाखमा त लागीगुराँसले ढकमक्क हुन्छ बेलढुङ्गा गाउँ ।” बेलढुङ्गा भन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम समेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने संख्या पनि अधिक छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत लगानी गरिरहेको छ ।
काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले बेलढुङपुग्ने पदमार्ग सहितका अन्य पूर्वाधार निर्माणमा रु ४० लाख लगानी भइसकेको छ भने चालु आर्थिक वर्षमा रु १० लाख बजेट साइकलल्याण्ड बनाउन र कान्छो धौलागिरीको प्रचार गर्न विनियोजन गरिएको छ ।













































































































































































































