३ श्रावण २०८३, आईतवार

 

मिर्मिरे कृषि सहकारीको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई चामल उपहार

बागलुङ । बागलुङको मिर्मिरे कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई चामल उपहार दिएको छ । संस्थाको १९औँ वार्षिक साधारण सभाको अवसरमा उपस्थित सदस्यलाई सहकारीले चामल दिएको हो ।

अधिकाशं सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई खाजा तथा यातायात खर्च भनेर साधारण सभामा नगद दिन्छन् । तर, मिर्मिरेले सदस्यलाई चामल दिएको हो ।

सहकारीले साधारण सभामा उपस्थित भएका सदस्यलाई ५ केजी स्थानीय जातको चामल दिएको हो । सभामा सदस्यलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार लक्ष्मी बाँस्कोटाले सहकारी संस्थाहरुमा देखिएको समस्या उद्देश्य अनुरुप काम नगर्दाको परिणाम भएको बताउनु भएको छ ।

सल्लाहकार बाँस्कोटाले संस्था दर्ता गर्दा विभिन्न उद्देश्य राखेर गर्ने तर, नियम विपरित गैरसदस्यसँग कारोबार र बचत ऋणमा मात्र ध्यान केन्द्रित गर्दा पछिल्लो समय केही सहकारीमा समस्या देखिएको भन्दै मिर्मिरेले उद्देश्य अनुसार कृषि क्षेत्रमा काम गर्नु सुखद् र सवल पक्ष रहेको बताउनु भएको थियो ।

उहाँले शेयर सदस्यलाई साधारण सभाको भत्ता, खाजा र लाभाशंबाट बाहिर निस्केर संस्थाको वित्तीय अवस्था, उद्देश्य अनुरुप काम गरे नगरेको अनुगमन र संस्थाका सबै गतिविधिमा सक्रिय सहभागिता बढाउन आग्रह गर्नु भएको थियो ।

मिर्मिरे सहकारीले बागलुङ नगरपालिका-३ गौडाकोटबाट खाद्यन्न प्रशोधन गरि विक्री वितरण गर्दै आएको छ । चामल, दाल, तेल, कुराउनी लगाएतका खाद्यवस्तुसँगै कुटानी पिसानीको समेत सेवा दिदै आएको सहकारीमा २ सय ५६ महिला र २ सय २८ पुरुष गरि ४ सय ८४ जना शेयर सदस्य रहेका छन् ।

सहकारीले संस्थाका सदस्यलाई छुट मूल्य र अन्य व्यक्तिहरुलाई बजार मुल्यमै खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

साधारण सभामा संस्थाका सचिव थानेश्वर सुवेदीले ८५ लाख २५ हजार ३ सय रुपैयाँ शेयर पुँजी र १ करोड १२ लाख ७२ हजार ४ सय ५७ रुपैयाँ बचत तथा १ करोड ५६ लाख ८८ हजार ७ सय ६० रुपैयाँ कर्जा लगानी रहेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुृ भएको थियो ।

संस्थाका कोषाध्यक्ष पदमबहादुर क्षेत्रीले आर्थिक वर्ष ०८१-०८२ को आर्थिक प्रतिवेदन तथा ०८२-०८३का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभामा जेष्ठ शेयर सदस्य देवी प्रसाद जैसीलाई सम्मान गरिएको छ । साधारण सभामा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त, शेयर सदस्यहरु कुलबहादुर राना र प्रेमलाल गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम मिर्मिरे कृषि सहकारीका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता, सचिव थानेश्वर सुवेदीको सञ्चालन तथा उपाध्यक्ष टेकबहादुर केसीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

आर्दशसंचारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung