बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै निजी हात हतियार बुझाउन आग्रह गरेको छ ।
शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ । जिल्ला सुरक्षा समिति बागलुङको माघ ८ गतेको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार यही माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार र विभिन्न काममा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय बागलुङ वा नजिकको प्रहरीचौकीमा बुझाउन सुचना जारी गरेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन्













































































































































































































