गलकोट । ताराखोला गाउँपालिका-३ हिलस्थित हरि माध्यमिक माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव, अभिभावक दिवस र बालबालिकाको अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका शिक्षा शाखा प्रमुख युवराज शर्माले विद्यार्थीहरुलाई रचनात्मक र सृजनात्मक शिक्षा दिनुपर्ने बताउनुभयो । हरि माविलाई आवासीय विद्यालयको रुपमा विकास गर्न पहल गर्ने उहाँको भनाई थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दोबबहादुर दर्पण मगरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा हेन्सम मल्ल छात्रवृत्ति, ताराखोला समाज जापानद्धारा प्रदान गरिने ५ हजार रुपैयाँको जेहेन्दार छात्रवृत्ति विद्यार्थीलाई वितरण गरिएको थियो ।
त्यस्तै विद्यालयको हिरक जयन्तीको अवसरमा आर्थिक क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत शिक्षक गणेशबहादुर कार्की, कक्षा १२ मा अंग्रेजी विषयमा सबै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक यादव परियार, कक्षा १२ कै लेखा विषयमा सबै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक घनश्याम शर्मा र विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक घनश्याम गौतमलाई सम्मान गरिएको थियो ।
त्यस्तै विद्यालयको आन्तरिक क्रियाकलापमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने, सरस्वती पूजाको अवसर पारी २० जना विद्यार्थीको अक्षरारम्भ गराईएको थियो ।
कार्यक्रम हरि माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन बस्नेतको अध्यक्षता, शिक्षक गणेशबहादुर कार्कीको स्वागत र शिक्षक शिवप्रसाद न्युरेको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































