बागलुङ । लिड्स नेपाल पोखरा तथा बागलुङ नगरपालिका-७ को संयुक्त आयोजनामा बागलुङ नगरपालिका ७ तितौरेमा स्थानीय महिला समूहमा आवद्ध महिलाहरुलाई स्वरोजगार बनाउन व्यवसायीक च्याउ खेतीको तालिम प्रदान गरिएको छ ।
गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिका-७ का वडा अध्यक्ष मेघनाथ गैरे, लिड्स नेपाल पोखराकी कार्यक्रम संयोजक साधना ढकाल, कर्मचारी भेरोनिका गुरुङ तथा लिड्स नेपाल बागलुङकी जिल्ला संयोजक विन्दु देवी शर्मा, संरक्षक समाज बागलुङका संयोजक दिपक शर्मा, प्रशिक्षक गङ्गाबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
एक दिने तालिममा २० जना महिलाहरु सहभागिता थिए ।घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरु अग्रसर हुने लिड्स नेपाल बागलुङकी जिल्ला संयोजक शर्माले बताइन्।
महिला किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउ खेतीतर्फ आकर्षित हुने लिड्स नेपालले जनाएको छ ।
तालिमपछि महिलालाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्रीको लागि लिड्स नेपालले सहजिकरण गर्ने भएको छ ।














































































































































































































