१९ जेष्ठ २०८३, मंगलवार

 

घरदैलोमा आएका गैरेसँग मतदाताको सिधा प्रश्न– आश्वासन धेरै भयो, अब विकास चाहियो

बागलुङ । बागलुङ क्षेत्र नंम्बर २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) का साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ लाई घरदैलो गर्दा मतदाताले सिधै प्रश्न गर्न लागेका छन् आश्वासन धेरै भयो, अब तत्काल दिगो विकास चाहियो ।

निर्वाचन परिचालन समितिका संयोजक फमलाल निउरेसहितको टोलीले ढोरपाटन नगरपालिका-९ मोम्ला, ढोरपाटन ७ र ८ बोबाङ, सेराबाङ, तमानखोला गाउँपालिका वडा नं १ र ५ को पैरा,खुङखानी र ठासपुरी, तमानखोला गाउँपालिका वडा नं २ को सिल्गुम,खोलेसवाङ,भयरबोंग बोङगाखानीका गाउँका युवा, किसान, उद्योगी, व्यवसायी, मजदुर, जेष्ठ नागरिक, विद्यार्थीसँग प्रत्येक्ष वार्ता र छलफल गर्दा स्थानीय नागरिकले भोगेका प्रशासनिक समस्या, पछाडि परेको ग्रामीण विकास, जातिय विभेद, सडक, गुणस्तरीय शिक्षा, स्वास्थ्यको अभाव, स्थानीय उत्पादनले नपाएको मूल्य र विगत तीन दशकदेखि मतदाताले आशा गरेका विकास, रोजगारी र समृद्धिका विषयमा मतदाताले सिधै प्रश्न गर्न थालेका छन् ।

गैरेले गाउँ शहरमा घरदैलो गरेर, कार्यकर्ता र समर्थकसँग भेटघाट गर्दा मतदाताले स्वास्थ्य, शिक्षा, सडक, रोजगारी, विजुली, इन्टरनेट, कृषि, सिचाई, घरेलु उद्योग, पशुपालनको बारेमा जिज्ञासा राख्नुका साथै जनताका आधारभूत आवश्यकता र समस्याको समाधानको बारेमा गहिरो गरी संवाद र विमर्श गरेका थिए ।

बागलुङ क्षेत्र नंम्बर २ धेरै कारणले पछि परेको र जनताको दुःख हटाउन आफू उम्मेदवार भएको ज्ञामनाथ गैरे ‘अनिल’ ले बताउनुभयो । साथै जनताको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यसपटकको निर्वाचनमा होमिएको गैरेको भनाई थियो ।गैरेले जनताको भावना बुझेर जनपक्षिय नीति निर्माण गर्न सक्ने योग्य उम्मेदवार छान्न मतदातालाई आग्रह गर्नु भयो ।

त्यसको लागि स्थानीय मतदाताको एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर आउने दल तथा उम्मेदवारलाई उच्च प्राथमिकता राख्न नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजिव घिमिरेले जनतालाई अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung